© 2026
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेको १२ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको घर–जग्गा रहेको विवरण सार्वजनिक भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार वाग्लेसँग ललितपुरको सानेपामा करिब २ करोड रुपैयाँको अपार्टमेन्ट, भैँसेपाटीमा करिब ५ करोड रुपैयाँ मूल्यको जग्गामा बनेको घर, काभ्रेको धुलिखेलमा ३ करोड ७५ लाख रुपैयाँको अपार्टमेन्ट तथा बन्दिपुरमा करिब २ करोड रुपैयाँ बराबरको जग्गा रहेको उल्लेख छ।
घर–जग्गाबाहेक उनले विभिन्न कम्पनीमा उल्लेख्य सेयर लगानी पनि गरेका छन्। सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता सेयर, सांग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता प्रमोटर सेयर तथा अपर मादी खोला हाइड्रोमा करिब ३ करोड रुपैयाँ बराबरको सेयर रहेको विवरणमा उल्लेख गरिएको छ।
त्यसैगरी, नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ र ठूलो खोलामा ६० लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको पनि सार्वजनिक विवरणमा जनाइएको छ। सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणमार्फत अर्थमन्त्री वाग्लेको घर–जग्गा तथा लगानीको अवस्था खुलाइएको हो।