© 2026
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको विवरण अनुसार शाहसँग नगद मात्रै १ करोड ४६ लाख रुपैयाँ रहेको देखिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको विवरणअनुसार उनले फेसबुक, युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालमार्फत आम्दानी गरेको उल्लेख गरेका छन्। अन्य सम्पत्तिका रूपमा पनि उनले यी डिजिटल प्लेटफर्महरूलाई समावेश गरेका छन्।
सम्पत्ति विवरणमा प्रधानमन्त्री पत्नी सविना काफ्लेसँग १९० तोला सुन, चाँदी तथा हिराका गरगहना रहेको उल्लेख छ। उक्त गहनाको स्रोत पैत्रिक सम्पत्ति रहेको जनाइएको छ।
जग्गा–जमिनतर्फ, काठमाडौँ महानगरपालिका–९ मा ध्रुवतेली शाहको नाममा ५ आना, धनुषामा १.२ बिघा र महोत्तरीमा रामनारायण शाहको नाममा ९ बिघा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।
सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणमार्फत प्रधानमन्त्री शाहको आयस्रोत र सम्पत्तिको अवस्थाबारे जानकारी सार्वजनिक गरिएको हो।