Butwal Today

जनताको खबरदारी नेतृत्वका लागि मार्गदर्शन हो : सांसद भुसाल

२९ चैत्र २०८२, आइतबार
अ+
अ-

रुपन्देही । प्रतिनिधि सभा सदस्य मन्जु भुसालले जनताले नेतृत्वलाई निरन्तर खबरदारी गर्नुपर्ने बताएकी छन्। रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले जनताको खबरदारी नेतृत्वका लागि महत्वपूर्ण सुझाव र मार्गदर्शन हुने धारणा व्यक्त गरिन्।

राष्ट्रिय स्वतन्त्र पार्टी, बुटवल–१२ द्वारा आयोजित नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै भुसालले नयाँ वर्षसँगै पार्टीले ठूलो जनादेश प्राप्त गरेको उल्लेख गरिन्। उनले जनताको भावना र अपेक्षालाई आत्मसात गर्दै आफू सधैं जनताको सेवकका रूपमा जनतासँगै मैदानमा रहेर सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।

उनले भनिन्, “पार्टीले गरेका वाचा कहीँकतै चुक्ने छैनौँ, हामी अक्षरशः पालना गर्नेछौँ।” साथै, जनताले दिएको जिम्मेवारी, साथ र समर्थनलाई सधैं शिरमा राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको मूल मर्म रहेको उनले स्पष्ट पारिन्। पछिल्लो समय प्रदेश तथा स्थानीय तहको निर्वाचन नजिकिँदै गएको सन्दर्भमा उनले पार्टीका शुभेच्छुक, समर्थक तथा कार्यकर्तालाई आफूखुसी कुनै पदको उम्मेदवार घोषणा नगर्न निर्देशन दिइन्।

त्यस्तै, चिदिका रुपन्देही सम्पर्क समाजको भित्ते पात्रो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले जनताको आवाज सदनमार्फत सरकारसमक्ष पुर्‍याउने प्रतिबद्धता जनाइन्। “म सधैं जनताको आवाज बनेर अघि बढ्नेछु र जनताको आवश्यकता अनुसार काम गर्नेछु,” उनले भनिन्।

भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी जनताको साझा पार्टी भएको उल्लेख गर्दै कसैको दबाब वा प्रभावमा नपरी सधैं राष्ट्र र राष्ट्रियताको पक्षमा काम गर्ने दृढता व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?