© 2026
बुटवल । नेपालका सडकहरू केवल गन्तव्य जोड्ने माध्यम मात्र होइनन्, यी त विकासका ऐना र हजारौँ मानिसका सपनाका साक्षी पनि हुन् ।
यिनै सडकहरूलाई आधुनिक र सुविधायुक्त बनाउने कठिन यात्राको एउटा महत्त्वपूर्ण खण्ड हो– बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक आयोजना । यस आयोजनाको कमान्ड अहिले एक यस्ती महिलाको हातमा छ, जसले आफ्नो नामजस्तै काममा पनि ‘कुशलता’ प्रदर्शन गरिरहेकी छन् । उनी हुन्– आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपाने ।
गुल्मीको दिगाममा जन्मिएकी कुशलताको बाल्यकाल बुटवलको माटोमा खेल्दै बित्यो । बुवा टिकाराम न्यौपाने र आमा शारदा न्यौपानेकी जेठी सन्तान कुशलता बाल्यकालदेखि नै जेहेन्दार थिइन् ।
धेरैलाई गणितका सूत्रहरू बोझ लाग्छन्, तर कुशलताका लागि गणित नै सबैभन्दा प्रिय विषय बन्यो । अङ्कहरूसँगको त्यही सामिप्यताले उनलाई इन्जिनियरिङको कठिन तर रोमाञ्चक बाटोतर्फ डोहो¥यायो ।
बुटवलकै दीप बोर्डिङ स्कुलबाट विद्यालय शिक्षा (एसएलसी) पूरा गरेकी उनले काठमाडौँको पुलचोक इन्जिनियरिङ कलेजबाट स्नातक गरिन् । पुलचोकमा पढ्दै गर्दा उनलाई एउटै कुराले सधैँ घचघच्याइरहन्थ्यो– “पढेर विदेश पलायन हुनुभन्दा आफ्नै देशको माटोमा केही इँटा थप्नुपर्छ ।”
संघर्ष र साहसको यात्रा
अहिलेको समयमा पनि हाम्रो समाजमा प्राविधिक र नेतृत्वदायी भूमिकामा महिलालाई देख्दा अचम्म मान्ने वा उनीहरूको क्षमतामा शङ्का गर्ने जमात सानो छैन ।
कुशलताले पनि यो तितो अनुभव सँगालेकी छन् । “कामलाई प्राथमिकता दिने मेरो स्वभाव छ । काम समयमै र गुणस्तरीय हुनुपर्छ भन्ने मेरो जिद्दीका कारण कहिलेकाहीँ अरूलाई चित्त बुझाउन गाह्रो हुन्छ,” उनी आफ्नो कार्यशैली सुनाउँछिन् ।
दैलेखको विकट मध्य पहाडी क्षेत्रका चुनौतीपूर्ण भूगोलमा काम गरेर अनुभव बटुलेकी कुशलता अहिले आफ्नै बाल्यकाल बितेको बुटवल क्षेत्रमा फर्किएकी छन् । तर, यो फिर्ती केवल एउटा जागिरे स्थानान्तरण मात्र थिएन, यो त एउटा ठुलो जिम्मेवारी र चुनौतीको चाङ थियो । “यहाँ आउँदा पनि धेरैले प्रश्न गरे– “के एउटी महिलाले यति ठुलो आयोजना सम्हाल्न सक्लिन् र ?” कुशलता भन्छिन्, “तर मलाई आफ्नो क्षमता र यो भूगोलको माटोसँगको साइनोमा विश्वास थियो ।
मानिसहरूले जति शङ्का गरे, मलाई काम गरेर देखाउने ऊर्जा त्यति नै मिल्दै गयो ।”
‘स्मार्ट’ राजमार्गको सपना
बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक (६९ किलोमिटर) अहिले धमाधम विस्तार भइरहेको छ । यो सडक केवल चौडा मात्र हुँदै छैन, यो नेपालकै आधुनिक र ‘स्मार्ट’ राजमार्ग बन्ने क्रममा छ । कुशलताको नेतृत्वमा भइरहेको यस कामले क्षेत्रीय अर्थतन्त्र र सवारी चापलाई नयाँ मोड दिने निश्चित छ ।
सडकको स्वरूपबारे उनी उत्साहित हुँदै सुनाउँछिन्, “सहरी क्षेत्रमा सर्भिस लेन, फुटपाथ र साइकल लेनसहित यो छ लेनको हुनेछ ।
ग्रामीण र वन क्षेत्रमा भने यसलाई चार लेनमा स्तरोन्नति गरिँदै छ ।” यस आयोजनाको सबैभन्दा रोचक पक्ष भनेको ‘वन्यजन्तुमैत्री’ संरचना हो । वन क्षेत्रमा वन्यजन्तुलाई वारपार गर्न सहज होस् भनेर १९ वटा अण्डरपास र अग्ला पुलहरू बनाइनेछन् ।
यस्तै, जितगढी, बेलबास, नयाँगाउँ, तामनगर, मुर्गिया र जीतपुरजस्ता मुख्य चोकहरूमा सवारी साधनका लागि अन्डरपास निर्माण गरिनेछ, जसले दुर्घटना न्यूनीकरण र यात्राको समय बचत गर्नेछ ।
कुशलताका अनुसार सरकारले २०८४ कात्तिकसम्मको समय सीमा दिएको छ । उनी भन्छिन्, “हामी समयमै काम सक्ने गरी लागिरहेका छौँ, तर कहिलेकाहीँ निर्माण सामग्रीको अभावले चुनौती थपिदिन्छ ।
यदि स्थानीय सरकार र बासिन्दाले पनि यसलाई आफ्नै गौरवको योजना ठानेर स्वामित्व लिइदिने हो भने विकासको गति अझै तीव्र हुने थियो ।”
दोहोरो जिम्मेवारी र सफलता
एक इन्जिनियरका रूपमा सडकको नक्सांकन र निर्माण व्यवस्थापन जति चुनौतीपूर्ण छ, एक आमा र बुहारीका रूपमा पारिवारिक सन्तुलन मिलाउनु उस्तै कठिन । कुशलता अहिले एउटा नाबालक सन्तानकी आमा पनि हुन् ।
उनी आफ्नो ६ वर्षको छोरालाई कहिले कार्यालयको छेउमै राखेर त कहिले परिवारको जिम्मा लगाएर आफ्नो कर्तव्यमा अहोरात्र खटिरहेकी छन् ।
“सन्तान प्रतिको माया र पेसागत जिम्मेवारीका बिच कहिलेकाहीँ युद्ध चल्छ । पेटमा बच्चा हुँदादेखि काखमा बोक्दासम्म मैले कामलाई कहिल्यै दोस्रो प्राथमिकतामा राखिनँ,” उनी भन्छिन् ।
उनको यो अदम्य साहस र योगदानको कदर गर्दै नेपाल इन्जिनियर्स एशोसिएशन, लुम्बिनी प्रदेशले ६३ औँ इन्जिनियरिङ दिवस–२०८२ को अवसरमा उनलाई ‘इन्जिनियर उत्कृष्टता पुरस्कार’ बाट सम्मानित गरेको छ । यो सम्मान केवल कुशलताका लागि मात्र होइन, कार्यक्षेत्रमा खटिने हजारौँ महिला इन्जिनियरहरूका लागि प्रेरणाको स्रोत बनेको छ ।
कुशलताको बुझाइमा अबका छोरीहरू सक्षम छन् र उनीहरूले नेतृत्व गरेका ठाउँमा काम पारदर्शी रूपमा सम्पन्न भएका धेरै उदाहरण छन् । तर, अझै पनि समाजले महिलाको नेतृत्वलाई पूर्ण रूपमा स्वीकार गर्न नसकेकोमा उनी गम्भीर छिन् ।
“मलाई यहाँसम्म ल्याउन मेरो बुवा–आमा र विशेष गरी श्रीमान् एवं घरपरिवारको ठुलो साथ छ । जब परिवारले छोरी–बुहारीलाई विश्वास गर्छ, तब उनीहरूले देशका लागि ठुलो योगदान दिन सक्छन्,” उनी गर्वका साथ भन्छिन् ।
फुर्सदको समयमा पुस्तक पढ्न र नयाँ ठाउँ घुम्न मन पराउने कुशलता राजनीतिक बहसमा पनि रुचि राख्छिन् । देशको पछिल्लो राजनीतिक घटनाक्रमले सही दिशा लिएमा योग्य नागरिकहरू विदेश पलायन हुनुपर्ने बाध्यता अन्त्य हुनेमा उनी आशावादी छिन् ।
इन्जिनियर कुशलता न्यौपानेले नेतृत्व गरेको राजमार्गले बुटवल र चन्द्रौटालाई मात्र जोड्ने छैन, यसले नेपाली समाजमा महिला नेतृत्वको क्षमता र ‘स्वदेशमै केही गर्न सकिन्छ’ भन्ने विश्वासलाई पनि थप मजबुत बनाउनेछ ।