© 2026
सल्यान । सल्यानको दुर्गम बस्तीमा पहिलो पटक विद्युत् बलेसँगै स्थानीय वासीमा उत्साह थपिएको छ ।
यही अवसरलाई जोड्दै नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रले बागचौर नगरपालिका वडा नं, ९ मा ३० औँ विद्युत् सुरक्षा दिवस मनाउँदै विद्युत् प्रयोगसम्बन्धी अभिमुखीकरण गरेको छ ।
“विद्युत् खतराबाट बचौँ र बचाऔँ” भन्ने नारासहित बिहीबार कार्यक्रम आयोजना गरेको हो । हालै मात्र विद्युत् सेवा पुगेका परिलेख र मौरीघारेमा ५० केभिए क्षमताका दुई वटा ट्रान्सफर्मर जडान तथा चार्ज गरिएपछि त्यही क्षेत्रमा केन्द्रित भएर दिवस मनाइएको वितरण केन्द्रले जनाएको छ ।
सल्यान वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले नयाँ विद्युतीकरण भएका बस्तीमै कार्यक्रम आयोजना गर्नुको उद्देश्य सेवा विस्तारसँगै सुरक्षाबारे जानकारी दिनु रहेको बताए । उनका अनुसार वडा नं. ९ का चाहार, टुनिछेरा, मौरीघारे र परिलेखका करिब १०० घरधुरी विद्युत् सेवाबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।
कार्यक्रममा बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमले दुर्गम क्षेत्रमा विद्युत् विस्तारले स्थानीय जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य तथा आर्थिक गतिविधिमा विद्युतको पहुँचले नयाँ सम्भावना सिर्जना गर्ने उल्लेख गर्दै बाँकी टोलहरूमा समेत छिट्टै सेवा विस्तारको पहल गरिने बताए ।
वडाध्यक्ष यज्ञ बहादुर डाँगीले स्थानीयको वर्षौँदेखिको चाहना पूरा भएको भन्दै विद्युतसँगै सुरक्षित प्रयोगबारे जानकारी दिनु उत्तिकै महत्त्वपूर्ण रहेको धारणा राखे ।
कार्यक्रममा विद्युत् प्रयोगका सुरक्षित तरिका, सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका उपायबारे प्राविधिकहरूले अभिमुखीकरण गरेका थिए ।
विद्युत् प्रयोगमा सामान्य लापरबाहीले समेत गम्भीर दुर्घटना निम्त्याउन सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
सहभागीहरूले विद्युत् सेवा विस्तारसँगै जनचेतना अभिवृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।