Butwal Today

चन्द्रकोट महोत्सवको आयव्यय सार्वजनिक, २१ लाख बढी आम्दानी

२८ चैत्र २०८२, शनिबार
अ+
अ-

गुल्मी ।

गुल्मीको चन्द्रकोट गाउँपालिकामा चन्द्रकोट क्षेत्र विकास समितिले आयोजना गरेको प्रथम चन्द्रकोट महोत्सव २०८२ को आम्दानी र खर्च विवरण सार्वजनिक गरिएको छ ।

समितिले शनिवार सार्वजनिक गरेको आय९व्यय विवरण अनुसार महोत्सवबाट कुल २१ लाख ३० हजार ८१ आम्दानी भएको छ भने खर्च कटाएर ५ लाख ९५ हजार २४६ बचत भएको जनाइएको छ ।

समितिका अनुसार महोत्सव सञ्चालनका लागि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग १३ लाख २१ हजार ९८१ रुपैयाँ रहेको छ । त्यस्तै चन्द्रकोट गाउँपालिकाबाट ६० हजार, घरेलु तथा साना उद्योग कार्यालयबाट २५ हजार तथा विभिन्न प्रतियोगिता एवं टिकट बिक्रीबाट समेत आम्दानी सङ्कलन गरिएको थियो । स्टल तथा झुला व्यवस्थापनबाट ५ लाख ८७ हजार आम्दानी भएको विवरणमा उल्लेख छ ।

त्यसै गरी खर्चतर्फ कलाकार व्यवस्थापनमा सबैभन्दा बढी ३ लाख ५९ हजार रकम खर्च भएको छ । पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम, प्रचारप्रसार, खानपान, साउन्ड सिस्टम तथा विविध व्यवस्थापनमा गरी कुल १५ लाख ३४ हजार ८३५ खर्च भएको महोत्सव आयोजक समितिका अध्यक्ष तेज बहादुर थापाले जानकारी दिएका छन् ।

महोत्सव अवधिमा सङ्कलित रकममध्ये हाल बैङ्क मौज्दात रु २ लाख ५६ हजार ५४० रहेको छ भने अन्य रकम सहयोगदाताबाट उठ्न बाँकी रहेको विवरणमा उल्लेख गरिएको छ ।

समितिका अध्यक्ष थापाले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, दर्शक, कलाकार, सुरक्षाकर्मी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै उक्त बचत भएको रकमलाई सामाजिक क्षेत्रको विकासमा खर्च गरिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?