Butwal Today

लुम्बिनी प्रदेशका ६ जिल्लामा १४ वटा पाटेबाघ फेला, रुपन्देहीको वनवाटिकामा पनि बाघ अभिलेख

२७ चैत्र २०८२, शुक्रबार
अ+
अ-

बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय निकुञ्ज रहेका बाँके र बर्दियाबाहेकका अरू ६ जिल्लामा पनि बाघ फेला परेको छ। त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभाग काठमाडौंले गरिरहेको अध्ययनमा १४ वटा बाघ फेला परेका हुन्।

लुम्बिनी प्रदेशमा वन्यजन्तु, उभयचर र सरिसृपको अवस्था पत्ता लगाउन भइरहेको अध्ययनअनुसार रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम, दाङ, पाल्पा र अर्घाखाँचीमा बाघ भेटिएका हुन्।

निकुञ्ज र संरक्षित क्षेत्रभन्दा बाहिर यति धेरै संख्यामा यो क्षेत्रमा बाघ फेला परेको यो पहिलोपटक हो। अध्ययनले तराईका रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा पाटेबाघ अभिलेख भएको छ। त्यस्तै दाङको तराई र पहाडी भूभाग, पाल्पा र अर्घाखाँचीको पहाडी क्षेत्रमा समेत बाघ देखिएको छ। प्रदेशका १२ मध्ये बाँके-बर्दियाबाहेक ६ जिल्लामा क्यामेरा ट्रयापमा पाटेबाघ परेको हो।  गुल्मी र प्यूठानमा पनि अध्ययन जारी छ भने पूर्वी रूकुम र रोल्पामा ३ सातापछि अध्ययन थालिने छ।

क्यामरा ट्रयापमा सबैभन्दा बढी कपिलवस्तु र दाङमा चार/चारवटा बाघ परेका छन्। कपिलवस्तुमा तिलौराकोट साझेदारी वन, गोरुसिंगे र खारखानी वनमा बाघ भेटिएका हुन्।

दाङमा पूर्वपश्चिम राजमार्ग आसपास अमेलिया, सतबरिया र अर्जुनखोलालगायतका क्षेत्रमा चारवटा बाघ क्यामरा ट्रयापमा परेका छन्। पश्चिम नवलपरासीको बाबा गोरिया सामुदायिक वनमा दुई र रूपन्देहीको वनबाटिका पार्क गणेशनगर छेउमा रहेको गौशाला आसपास एउटा बाघ अभिलेख भएको छ।

पाल्पाको माथागढी र तिनाउ गाउँपालिकामा दुईवटा बाघ भेटिएका छन् भने अर्घाखाचीको शीतगंगा नगरपालिका रजिया नजिकै एउटा बाघ अभिलेख भएको छ। सबै ठाउँमा बयस्क बाघ देखिएका त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा अध्ययन टोली संयोजक हरिप्रसाद शर्माले जानकारी दिए।

निकुञ्ज र संरक्षित क्षेत्रमा बाघ गणना जारी रहँदा गैरसंरक्षित क्षेत्रमा पनि उल्लेख्य संख्यामा बाघ अभिलेख हुनु सकारात्मक मानिएको छ। यसले पर्यापर्यटनको विविधतामा आकर्षण थपिरहँदा मानव र बाघ द्वन्द्व न्यूनीकरणमा भने चुनौती थपिएको छ।

६ जिल्लाको दुई हजार दुई सय वर्ग किलोमिटरमा ३ सय २३ वटा क्यामरा राखिएको थियो।

२५ वर्ग किलोमिटरमा ४ वटाका दरले २१ दिनसम्म क्यामरा राखिएको थियो। वन्यजन्तु आउआउ गर्ने सम्भाव्य बाटो, नदी खोला किनार, दोबाटो फायरलाइनमा क्यामेरा राखिएको थियो । क्यामेरामा बाघबाहेक चितुवा, नीरबिरालो, चरिबाघ, जरायो, हुँडार, चित्तल, काठेभालुलगायतका जनावर पनि परेका छन्।

अध्ययनले मानव वन्यजन्तु सहअस्तित्व कायम गर्न चाहिने आधारभूत तथ्याकहरू संकलन गर्न पनि सहयोग गर्ने अपेक्षा छ।

त्रिविको २० सदस्यीय टोलीले दुई वर्षदेखि अध्ययन गरिरहेको छ। सन् २०२२ को गणनाअनुसार नेपालमा ३ सय ५५ वटा पाटेबाघ छन्। गैरसंरक्षित क्षेत्रमा पनि अभिलेख हुनुले बाघको संख्या अझ बढने देखिन्छ । तर, पछिल्लो समय मानव-बाघ द्वन्द्व बढ्दा समुदायमा त्रास बढेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?