© 2026
बुटवल । गोरखा दरवारदेखि जितगढीसम्मको ऐतिहासिक एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको पदयात्राको यो चौंथो संस्करण हो ।
गोरखा दरबारको हनुमानभञ्ज्याङमा एक कार्यक्रमकाबीच पदयात्रामा सहभागीहरुलाई बिदाइ गरिएको छ । टर्च लाइटको साथमा नेपाली सेनाको प्रथम कम्पनीहरू श्रीनाथ, सबुज, पुरानो गोरख, बर्दवाणी र कालिबक्स) को झण्डा हस्तान्तरण गरेर उनीहरूलाई बिदाइ गरिएको रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए ।
पश्चिम पृतना पोखराका पृतनापति उपरथी भोलानाथ थापा, पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन, गोरखा नगरपालिकाकी उपमेयर मसली माया थोकर, सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा लगायतले संयुक्त रुपमा झण्डा र टर्च लाइट हस्तान्तरण गर्दै यात्रामा सहभागीहरुलाई बिदाइ गरेका हुन् । यात्रामा सेनानी रोशन अधिकारीको कमाण्डमा ३५ जनाको टोली सहभागी छन् ।
गोरखाबाट सुरु भएको पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुगेर टुंगिने छ । गोरखाको टोलीले पालुङटारको सतिघाट पुगेर आजै तनहुँलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ । तनहुँले पाल्पालाई र पाल्पाले रुपन्देहीलाई बुझाउने गणपति रिजालले जानकारी दिए ।
‘रुपन्देहीको टोली बैशाख ६ गते जितगढी पुग्छ,’ उनले भने, ‘भोलिपल्ट वैशाख ७ को बिजयी उत्सवमा सहभागी हुन्छ ।’ तत्कालिन ब्रिटिस इस्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा विजय प्राप्त गरेको दिन (७ वैशाख) लाई विजय उत्सवको रुपमा मनाउँदै आएको उनले बताए । उनका अनुसार कुल २०७ किलोमिटर दुरी टोलीले आठ दिनमा तय गर्ने छ ।
नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनको स्मरणमा वैशाख ७ मा रुपन्देहीको बुटवलस्थित जितगढीमा उत्सव मनाइन्छ ।
१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउँदै आएको छ ।