© 2026
नवलपरासी ।
१० औं संस्करणको सुर्यनगर गोल्डकप तयारी पूरा भएको छ । चैत्र २७ गतेबाट सुरु हुने जिल्लाकै सर्वाधिक पुरस्कार राशिको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
गोल्डकप सञ्चालनका लागि बर्दघाट नगरपालिकाले बजेट कितावमै १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । नव युवा क्लव बर्दघाट १६ को आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा गोल्डकप सञ्चालन हुँदै आएको छ।
गत वर्षको तुलनामा आम दर्शकका लागि यस पटक भने टिकट दर घटाइएको आयोजकले जनाएको छ । वडा नम्बर १६ का अध्यक्ष एवम् फुटबल सङ्घ लुम्बिनी प्रदेश महासचिव भिमकाजी गुरुङका अनुसार बहुप्रतिक्षित गोल्डकपका लागी दैनिक टिकट दर रु ५०,सेमिफाइनल टिकट दर रु १०० र फाइनल खेलको टिकट दर रु २ सय कायम गरिएको छ ।
प्रथम हुने टिमले नगद रु ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र द्वितीय हुने टिमले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार राशि प्राप्त गर्ने छन् ।गोल्डकप अवधिभर विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूले समेत नगद पुरस्कार मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष धन सिंह चितौरेले बताए ।
प्रतियोगिता सञ्चालनका लागि विभिन्न सङ्घ संस्था र सहयोगी दाताहरूबाट सहयोग सङ्कलनको काम भइरहेको आर्थिक संयोजक प्रदीप अधिकारीले बताए । सुर्यनगर गोल्डकप समग्र बर्दघाट नगरपालिका र जिल्लाकै चिनारीसँग जोडिएको वडा अध्यक्ष भिमकाजी गुरुङले उल्लेख गरे ।
सूर्य नगर गोल्डकपका लागि बर्दघाट नगरपालिकाका निवर्तमान नगरप्रमुख धिरज शर्मा बस्यालको कार्यकालमा गोल्डकपका लागि ५ लाख बजेट विनियोजन गरी गोल संरक्षकत्वको सुरुवात हुँदै आएकोमा हाल नगरपालिकाले यसको बजेटमा उल्लेख वृद्धि गर्दै १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।खेल सञ्चालनका लागि करिब २५ लाख खर्चको अनुमान गरिएको खेलका आर्थिक संयोजक प्रदीप अधिकारीले जनाए ।
भोलि हुने उद्घाटन शत्रको खेल हर्दी युवा समाज चितवन र हेटौँडा एकेडेमी मकवानपुरबिच हुने खेल संयोजक मीन गुरुङले बताए ।खेलमा ८ टिमको सहभागिता रहेको छ ।
सूर्य नगर गोल्डकप यस क्षेत्रकै चर्चित फुटबल प्रतियोगिता हो ।खेल अवलोकनका लागि हजारौँ दर्शकको उपस्थिति रहने गर्दछ।खेलको समापन वैशाख ५ गते हुने जनाइएको छ ।