© 2026
‘रास्वपाका केही नेताहरू, सांसद समेतका, कुरा टेलिभिजनमा सुन्दा सुनिरहुँ जस्तो लाग्ने । विषयवस्तुको पूरा ज्ञान छ, परिणाममुखी काम गर्न हुटहुटी छ, देशको मायाले विकास गरी छाड्छु भन्ने अठोट पनि छ ।
ओछ्यानमा थला परेको म वृद्ध, रुग्ण नागरिकलाई त झन् यस्तो सुन्न पाउँदा अरू के चाहियो र ! शुभकामना !’ – डा. देवेन्द्रराज पाण्डे ।
‘फाल्गुनको निर्वाचनमा बारबारा फाउण्डेशनले जिताउने भूमिका खेलेको भन्ने सुने । म संस्थापक सदस्यले किन जितिन ? नेपालका केही ‘मुर्धन्य राजनीतिज्ञ’ र ‘विद्धान विश्लेषक’हरूको सतही र हावादारी ज्ञान सुन्दा लाग्छ – यही मानसिकताले देशले चाहेजति गति लिएन । देशले यस्ता पात्रबाट चाँडै मुक्ति पाओस् ।’
– डा. गोविन्दराज पोख्रेल ।
‘म सांसद हुँदा आफ्नो निर्वाचन क्षेत्रका विषयमा प्रधानमन्त्रीज्यूसँग छलफल गर्न धेरैपटक समय माग्दा एक पटक पनि भेट गर्न दिएनन् । तर, आज प्रधानमन्त्रीज्यूले सवै दलका निर्वाचित माननीयहरूसंग नियमित रूपमा भेटघाट र परामर्श गरिरहेको देख्दा खुशी लागेको छ ।
सम्माननीय प्रधानमन्त्रीज्यूको यो पहल वास्तवमै प्रशंसनीय र सकारात्मक छ ।’ – वासुदेव घिमिरे । उल्लेखित तिनैजना जिम्मेवार व्यक्तित्वहरू रास्वपाका समर्थक हैनन् । तर उनीहरूले सुझाव दिएको देखिएन नयाँ सरकारलाई र देखिएन पराजित भएर पीडित बनेका पुराना दलहरूप्रति सान्त्वना समेत व्यक्त गरेको पनि ।
बरु तिनवटै व्यक्तिले पुराना दलहरूप्रति अमूर्तरूपमै सहि अविश्वास प्रकट गरेको देखियो । देशको वर्तमान अवस्थाको चित्र र चरित्र होला यो । जति पनि सांसदलाई बालेनले भेटेर वार्ता गरेर फर्केका छन्, बालेनको शैली र सोचको तारिफै गरेका सुनिन्छन् उनीहरूले । तर त्यसरी तारिफ गर्नेहरू रास्वपाका चाहिँ हैनन्, छैनन् । यसले पनि देखाउँछ, देश कतातिर गैरहेको छ र कस्तो भैरहेको छ भनेर ।
देउवाकरण भएको एमाले र ओलीकरण भएको कांग्रेस, अनि राजनीतिकरण गरिएको भनेर आरोप लागेको अदालतका बारेमा बजारमा जस्ता विचार सुनिन्छन्, त्यसको अनुमान उनीहरूका हनुमानहरूले गरेकै होलान् ।
नगरेका भए त्यसको नतिजा पनि भोग्लान्, व्यहोर्लान् । ओली–लेखकप्रति देखाएको सद्भाव, अनि रवि लामिछाने र रविन्द्र मिश्रप्रति देखाएको दुर्भावनाले अदालतको गरिमा अरू गुमाउन सहयोग नपु¥याओस् । अझै पनि अदालत र पुराना दलले आफ्नो बिग्रेको लत फेर्दैनन् भने उनीहरूको हालत जे होला, समयले आफै देखाउला ।
आफुले बिगार्ने, अनि सातसमुद्र पारीका देशलाई सरापेर चोखिने वा चोखो देखिन खाज्ने शैलीले अब धेरै दिन खान नदेला । बादलले सदनमा जे बोले, उनीहरूको सोच, शिक्षा र शैली त्यही हो, जो अभिलेखमा रहने भयो । अर्को दिन बैठक बसेर, कुरा सुधारेर, हाम्रो सम्बन्ध सवैसंग राम्रो छ भन्दैमा कसैले टेर्दैन, पत्याउँदैन ।
एकातिर फर्केर एउटा र अर्कोतिर फर्केर अर्को कुरा गरेर आफैले विश्वास गुमाएकाले । अमेरिका, बारबारा फाउण्डेशन, सेना, पुलिस, प्रशासन, कर्मचारी सहित नेपाली जनताले नपत्याएको विषय आफैले बोलेर पुष्टि गरेका हुन् र तीतो पोखेर सन्तुष्टि प्रकट गरेका पनि छन् । विषवमन गरेरै सही सत्य ओकलेकामा धन्यावादका पात्र हुन् बादल ।
उनले जस्तो तालमा बजाउन सिकेका थिए त्यही तालमा बजाएका हुन् मादल । रह्यो प्रतिशोधको कुरा । प्रतिशोध, प्रतिशोध र प्रतिशोध भनेर जति कराए पनि पत्याउनु पर्ने जनताले पत्याएर साथ दिएको देखिएन । त्यसैले आत्तिएका ओलीका पात्तिएका अनुचरको सडक आन्दोलन एक्लै मच्चिएर थच्चियो ।
राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिशोध, प्रतिशोध र प्रतिशोध भनेर कुर्लदा आफ्नै आँगनमा स्वानको चर्को स्वरका रूपमा लिनेको कमी देखिएन । बरु भनेको समेत सुनियो – प्रतिशोध भन्ने न्युनतम नैतिक अधिकार बँचाएका भए नहुँदो हो यस्तो, नतिजा अझै देखिएला कस्तो ?
पुरानो सत्ताका सवै संयन्त्रका षडयन्त्रको शिकार भएका रविले त्याग गरेकै हुनाले झण्डै दुईतिहाई सिट जिते प्रतिनिधि सभामा, प्रधानमन्त्री बने बालेन र अर्थमन्त्री भए डा. स्वर्णिम वाग्ले । पुरानो सत्ताका सिण्डिकेटका सरदारले अझै आफुलाई असरदार र अरूलाई कसुरदार देख्दा रसातलमा धसिएका हुन् ।
मल, मूत्र, सिंगान र खकार बाहेक अरू केही त्याग्नै नसक्ने बिकारै बिकारका शिकार भएका असुरहरूबाट अब देश चल्दैन भनेर बुझिसकेका छन् जनताले । युवाहरूलाई अघि सारेर परिवर्तनको आस गरेका हुन् र भर परेका पनि देखिन्छन् । यिनले पनि धोका दिए अर्को खोज्लान्, रोज्लान्, तर पुरानैतिर त नफर्केलान् ।
सकारात्मक सुधार हुँदैछ त्यसैले । कमिशन खान नपाएर ७ वर्षदेखि लुम्बिनीमा थन्क्याइएका विद्युतीय बस सञ्चालन गर्न र पोखराको फेवातालको अतिक्रमण हटाउन पनि बालेन सरकार कुरिएको रहेछ भन्दैछन् अधिकांशले ।
टोले गुण्डादेखि लिएर टुप्पीसम्मका बदमासलाई तह लगाउने समय यही रहेछ भन्ने ठान्दैछन् । कार्यालयमा जाँदा सेवाग्राहीले व्यहोर्न परेको सास्ती समेत कम भएको देखिदैछ । प्रहरी महानिरीक्षकले भनेछन् – सेवा लिन आउने जनताले तोकिएको ढाँचामा उजुरी वा निवेदन लेखेर दिन जान्दैनन्, सक्दैनन् ।
उनीहरूलाई प्रहरीले नै लेखिदिएर सहयोग गर्नुपर्छ, गरुन् ।’ साह्रै राम्रो काम हुने छ यो यदि उनले भने अनुसार गरिएछ, भएछ भने । त्यस्तै काम प्रशासन, मालपोत, नापी, वन, कर, अन्तशुल्क, भन्सार, अदालत, यातायात कार्यालयमा पनि गरियोस् । कार्यालयकै अगाडि, पछाडि वा किनारमा कतै हरेक दिन सेवा लिन आउनेहरूका लागि सहयोगी कक्ष राखेर, कर्मचारी खटाएर । त्यति गरेमा धेरै राम्रो हुने छ ।
यदि त्यसो गर्न सम्भव हुँदैन भने लेखापढी व्यवसायीलाई अलि व्यवस्थित गरियोस्, पारियोस् । उनीहरू मार्फत कर्मचारीले घुस लेन/देनको मोल/तोल नगरुन्, नगराउन्, यतातर्फ निरन्तर निगरानी गरियोस् । हरेक कार्यालयमा दैनिक रूपमा हुने साना तिना घुस लेन/देनमा लेखापढी व्यवसायीको हात भए पनि ठूला खालका कारोबारमा हुन्न ।
राजनीतिक दलका नेता, बिचौलिया र माफियाकै हात हुन्छ, चल्छ । तिनीहरूको निगरानी गर्नुपर्छ । हटाउन र पक्रेर थुन्न पर्ने त त्यस्तालाई हो । लेखापढी व्यवसायीलाई हैन ।
बिचौलिया र माफियाको जालो तलदेखि माथिसम्मै हुन्छ । बेचन झा र दिपक भट्ट प्रमाण हुन् । कतिपय वरिष्ठ पत्रकार, अधिकारवादी अभियन्ता र वकिलहरू पनि होलान्, हुन्छन् । सरकारले पक्रन नसकेका जिबी राई जस्ता अरूहरू पनि छन् । तिनैले हो पुराना दल, देश, व्यवस्था र सरकारलाई बदनाम गराएको । अर्थतन्त्र ध्वस्त पारेको ।
कतिपय बैंकहरू समेत डुबाएको । मित्र राष्ट्रसंगको सम्बन्ध बिगारेको । देशलाई ग्रे लिष्टमा पारेको । वायु सेवा, आयल निगम, विद्युत प्राधिकरण, टेलिकम जस्ता संस्थान डुबाउन सघाएको । मित्रराष्ट्रले उपहारका रूपमा दिएका कल–कारखाना बेचाएर खाएको । बँचेका उद्योग र कारखाना पनि धरासायी बनाएर बेच्न लगाएको आदि इत्यादि ।
तिनीहरूसंग साँठ–गाँठ गरेका नेता र दलले हो देश दोहन गरेको । लोकतन्त्रका जरा, हाँगा र टुप्पा सवै सडाएको, कुहाएको । हो, त्यस्तैलाई हो समातेर कार्बाही गर्नुपर्ने । देश लुटेको धन असुल्ने ।
सरकारी कार्यालयका अगाडि बसेर लेखापढी गर्ने सहयोगीलाई लखेटेर र कमजोलाई दपेटेर हुन्न । माखा (झिंगा) को पित्त निचोरेर द्रव्य संकलन गर्ने चित्त राखेर काम बन्दैन, हुन्न ।
पुरानाले पुर्पुरो समाएर बसेको, नयाँले अब सम्हाल्नु पर्छ भनेर कम्मर कसेको समय हो यो । नयाँमा अनुभवको कमी छ, बनाउने हुटहुटी, जोस र जाँगर भए पनि । यसर्थ अलि हतार गरेको देखिन्छ । उमेर अनुसारको स्वाभाविक असर हो यो । परिपक्वता आउन अलिकति ठक्कर खानै पर्छ, खालान् ।
हिजोकाले गरेका जस्ता अपराध चाहिँ भुलेर पनि नगर्लान् । खबरदारीको खाँचो छ । खबरदारीलाई अन्यथा नसम्झुन् । कांग्रेस, एमाले र माओवादी झै सत्ता, शक्ति र सुविधाले नबिग्रुन् । सुरुवातको जस्तै स्वभाव कायम रहोस् । फसाउन खोज्नेहरूको दाल नगलोस् । सत्ता र शक्ति उन्मादले आफै नटुटुन् र नफुटुन् ।