© 2026
भैरहवा । लुम्बिनीमा प्रयोगविहीन अवस्थामा थन्किएका विद्युतीय बसहरू अब विभिन्न सहरमा पठाइने तयारी गरिएको छ। लुम्बिनीबाट भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा राखिएको थियो। ती बसहरूलाई पोखरा, धनगढी, सुर्खेत र नेपालगञ्ज विमानस्थलमा पठाउने निर्देशन आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाशाखा प्रमुख मुरारी प्रसाद पौडेल जानकारी दिए ।
उनका अनुसार पोखरामा दुईवटा तथा सुर्खेत, नेपालगञ्ज र धनगढीमा एक–एक वटा बस पठाइनेछ। विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहले बसहरूलाई एयरपोर्ट केन्द्रित सटल सेवाका रूपमा लुम्बिनी–भैरहवा रुटमा सञ्चालन गर्ने गरी पहल गरिरहेको बताएका छन्।
उनले बसहरू अन्य सहरमा पठाउने विकल्पसमेत छलफलमा भए पनि प्राथमिकता भने स्थानीय स्तरमै उपयोग गर्नेमा केन्द्रित गरिएको बताए । “सकभर केही बस भैरहवामै सञ्चालन गर्ने, एयरपोर्टबाट लुम्बिनीसम्म सिधा सेवा दिने गरी पहल गरिरहेका छौँ,” साहले भने।
यसअघि सञ्चालनको स्पष्ट मोडालिटी अभावमा बसहरू लामो समयदेखि प्रयोगविहीन अवस्थामा थिए। केही दिनअघि सेवा सुरु गरिए पनि व्यवस्थापन अभावका कारण पुनः बसहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै थन्किएका छन्।
यसअघि लुम्बिनी क्षेत्रमै सञ्चालनको प्रयास भए पनि योजना स्पष्ट नहुँदा बसहरू पुनः थन्किने अवस्थामा पुगेका थिए। सेवा सुरु भएको २४ घण्टापछि बसहरू लुम्बिनी विकास कोष परिसरबाट हटाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर राखिएको थियो।
महाशाखा प्रमुख पौडेलले लामो समय प्रयोगविहीन रहँदा अधिकांश बसहरूको अवस्था सन्तोषजनक नरहेको बताए। उनका अनुसार केही बसमा प्राविधिक समस्या देखिएको छ भने मर्मतसम्भार आवश्यक छ। हाल सीमित बस मात्रै सञ्चालन योग्य अवस्थामा रहेका छन्।
एशियाली विकास बैंक (एडीबी) को करिब २९ करोड रुपैयाँ अनुदानमा खरिद गरिएका यी बसहरू स्पष्ट नीति र व्यवस्थापन अभावका कारण लामो समयदेखि उपयोगविहीन बनेका थिए।