© 2026
बुटवल । भारतीय नागरिक र नेपाली नागरिकका बीचमा सडकमा गुट्खा थुकेको विषयमा सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको एक भिडियोले नागरिक जिम्मेवारी र पर्यटक व्यवहारबारे नयाँ बहस सुरु गरेको छ।
उक्त भिडियोमा एक नेपाली नागरिकले सडकमा गुट्खा थुकेको भन्दै भारतीय पर्यटकहरूको समूहलाई सम्झाउँदै गरेको र सफा गर्न लगाएको दृश्य देखिन्छ।
भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्
भिडियो नेपालको कुन ठाउँमा खिचिएको भन्ने नखुलाइएको भएपनि यसले नेपालमा भारतीय पर्यटकले गर्ने फोहोरका सन्दर्भमा भारतीय मिडियाहरुमा व्यापक बहस शुरु गरेको छ। भारतका धेरै मिडियाहरुले यो भिडियोलाई आधार मानेर समाचार बनाउँदै नेपाली नागरिकको प्रशंसा गरेका छन्।
भिडियोमा देखिन्छ-‘कारमा सवार भारतीय पर्यटकहरूलाई एक स्थानीय नेपालीले रोकेका छन्, जब उनीहरूमध्ये एक जनाले गाडीबाटै सडकमा गुट्खा थुकेका हुन्छन्। त्यसपछि नेपाली युवाले कडा तर शिष्ट भाषामा उनीहरूलाई सम्झाउँदै भन्छन् कि उनीहरू घुम्न आएको देशलाई फोहोर बनाउन हुँदैन।’
उनले भनेका छन्,-“नाहीं भाई, इन्डिया होइन, नेपाल हो। यहाँ गन्दा नगर्नुहोस्। तपाईंहरू यति ठूलो देशबाट आउनुहुन्छ, अनि यहाँ आएर फोहोर गर्नुहुन्छ।”
त्यसपछि ती पर्यटकमध्ये एक जनाले माफी माग्दै पानी प्रयोग गरेर थुकेको स्थान सफा गर्छन्। नेपाली युवाले बारम्बार धार्मिक तथा सार्वजनिक स्थलहरू सफा राख्नुपर्नेमा जोड दिएका छन्। यसबारेमा भारतका द प्रिन्ट, इन्डिया टुडे लगायतका मिडियाले समाचार प्रकाशन गरेका छन्। सामाजिक सञ्जाल एक्समा यसबारेमा व्यापक बहस भइराखेको छ।