© 2026
काठमाडौँ । बङ्गलादेशले विद्यार्थी नेता अबु सइदको हत्याको आरोपमा दुई पूर्व प्रहरीलाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ । उनले पूर्व प्रधानमन्त्री शेख हसिनाको निरंकुश सरकार अपदस्थ गर्ने सन् २०२४ को विद्रोहलाई नेतृत्व गरेका थिए । सइदको उत्तरी शहर रङ्गपुरमा २३ वर्षको उमेरमा मृत्यु भएको थियो । उक्त प्रदर्शनमा प्रहरीको दमनमा मारिएका उनी पहिलो विद्यार्थी नेता हुन ।
सन् २०२४ जुलाई १६ मा नजिकैबाट प्रहरीले गोली हान्नु अघि उनले हात फैलाएर उभिएकोे अन्तिम क्षणको फुटेज हसिनाको पतनपछि बङ्गलादेशी टेलिभिजनमा पटक पटक देखाइएको भाइरल बनेको थियो । अभियोजनकर्ताहरूले हत्याको सम्बन्धमा ३० जनालाई अभियोग लगाएका थिए, जसमा हत्यादेखि कमान्ड जिम्मेवारी र आपराधिक उद्यम समावेश थियो। मृत्युदण्डको सजाय सुनाइएका दुई व्यक्तिहरूसहित केवल छ जना हिरासतमा छन्।
मुख्य अभियोजक अमिनुल इस्लामले सञ्चारकर्मीहरूसँग भने, “सइदले देशलाई निरङ्कुश शासनबाट मुक्त गर्न आफ्नो जीवन बलिदान दिएका थिए । उनको हत्यामा अभियोग लगाइएका सबै ३० जनालाई दोषी ठहराइएको छ ।”जिल्ला प्रहरी कार्यालयका अमिर हुसेन र सुजनचन्द्र रोयलाई मृत्युदण्डको सजाय सुनाइएको छ । अदालतले सइद अध्ययनरत बेगम रोकिया विश्वविद्यालयका उपकुलपतिसहित अन्य २८ जनालाई जेल सजाय सुनाएको छ ।
हसिनाको अवामी लिगको विद्यार्थी शाखा हाल प्रतिबन्धित बङ्गलादेश छात्र लिगका एक नेतालाई पनि सजाय सुनाइएको छ। केहीले १० वर्षसम्म जेल सजाय भोग्नुपर्ने भए पनि सइदका भाइ रमजान अली र शहिद सइदका परिवारले दोषीलाई कडा सजाय हुनुपर्ने बताएका छन्।अदालतले वरिष्ठ प्रहरी अधिकारी र छात्र लिगका नेतालाई हल्का सजाय सुनाएको छ ।