© 2026
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार काठमाडौंमा बिभिन्न देशका राजदूत तथा नियोग प्रमुखहरूसँग सामूहिक शिष्टाचार भेट गरेर नयाँ कूटनीतिक अभ्यास अपनाएका छन। विगतमा प्रधानमन्त्रीहरूले प्रत्येक देशका राजदूतलाई अलग अलग भेट्ने परम्परा अपनाउँथे भने विशेष परिस्थितिमा मात्र एकसाथ ब्रिफिङ गरिन्थ्यो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा भारत, पाकिस्तान, दक्षिण कोरिया, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, अमेरिका र संयुक्त राष्ट्रसंघका राजदूत ,नियोग प्रमुखहरू उपस्थित थिए।
परराष्ट्र सचिव अमृतबहादुर राईले सबै राजदूतलाई स्वागत गर्दै नेपाल सरकारको प्राथमिकता, सहयोगका आवश्यकताहरू र सद्भावका विषयमा जानकारी दिए। त्यसपछि प्रत्येक राजदूतले आफ्नो देश र नेपालको सम्बन्ध तथा आगामी सम्भावित सहकार्यका दृष्टिकोण प्रस्तुत गरे।
प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्दै नेपाल सरकारको विदेश नीति, आर्थिक विकास, सुशासन र नेपाली कामदारको सुरक्षामा प्रतिबद्धता रहाने बताए। उनले भने, “साझा समृद्धिको लागि सन्तुलित र व्यावहारिक विदेश नीति हाम्रो हुनेछ। शान्ति सबैको साझा प्राथमिकता हुनुपर्छ।”भेटवार्तामा प्रधानमन्त्रीले द्विपक्षीय कुराकाहरू आगामी दिनमा परराष्ट्र मन्त्रालयमार्फत अघि बढाउने बताए, जसले मन्त्रालयलाई समन्वयको केन्द्र बनाउँदै नयाँ कूटनीतिक ढाँचा स्थापित गरेको छ।