Butwal Today

प्रतिनिधिसभा : ‘अब आश्वासन होइन, डेलिभरी चाहिन्छ’

२५ चैत्र २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विशेष अवस्थामा भएको निर्वाचनबाट विजयी भएको दल र सरकारले जनतालाई सुशासन दिनुपर्नेमा जोड दिएका छन् ।

सभाको आजको विशेष समयमा दलीय आधारमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका लीमा अधिकारीले नयाँ सरकारले चालेका सुधारात्मक कामको प्रशंसा गर्दै समग्र आर्थिक विकासको नयाँ आयाम दिन सरकार सफल हुनुपर्ने बताइन । उनले अब जनतालाई आश्वासन र भागभण्डा होइन डेलिभरी चाहिने भएकाले त्यसअनुसार सबैले काम गर्नुपर्नेमा जोड दिइन ।

सोही पार्टीका जगदीश खरेलले सुशीला कार्की नेतृत्वको सरकार र जेनजी समूहबीच भएको सम्झौताको अक्षरशः पालना हुनुपर्ने बताए । रास्वपाकै समीक्षा बास्कोटाले उच्च सम्भावना भएको कर्णाली प्रदेशलाई उपेक्षामा नराख्न आग्रह गरिन ।

नेपाली कांग्रेसका जनकराज गिरीले जमुनादेखि हिल्सासम्म हुँदै मानसरोवरसम्मको त्रिदेशीय मार्गलाई स्तरोन्नती गर्न सके बाजुराको पर्यटन, रोजगारी र स्थानीय उत्पादन वृद्धि हुने बताए । उनले सेती लोकमार्ग निर्माण अलपत्र परेकाले शीघ्र निर्माणमा जोड दिए । कांग्रेसकै सन्दीप रानाले खेतीयोग्य जमिनमा सिँचाइको अभाव हुने समस्यालाई समाधान गर्न आग्रह गरे ।

नेकपा (एमाले) का यज्ञबहादुर बोगटीले राज्यले अछामलाई पिछडिएको क्षेत्र घोषणा गरे पनि त्यहाँका जनता शिक्षा, स्वास्थ्य र रोजगारीलगायत समस्या खेपिरहेको बताए । उनले विदेशमा गएर रोजगारी गर्न बाध्य नागरिकलाई फर्काएर स्वदेशमै रोजगारी दिन र पहाडी जिल्लाका सडकहरूको स्तरोन्नति र निर्माण ध्यान दिन आग्रह गरे ।

एमालेका साजिदा खातुन सिद्धिकीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही भएको र एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शमौ ओली र कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई विधि विपरीत हिरासतमा लिइएको आरोप लगाइन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाहीले देशको अर्थतन्त्रमा बिचौलिया र नवउदारवाद हावी भएको र वैदेशिक ऋणमा निर्भरता कायम रहेकाले आत्मनिर्भर अर्थतन्त्र विकासको जोड दिए । उनले सबै भ्रष्टाचार प्रकरणको छानबिन गरी दोषीलाई कारवाही गर्न आग्रह गरे ।

श्रम संस्कृति पार्टीका रुवी कुमारीले मधेस प्रदेशमा ‘दहेज’, युवाहरूको बेरोजगारीको समस्याको समाधान र किसानका लागि सिँचाइ, मल र उचित सुविधा दिन आग्रह गरिन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत गिरीले जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग निर्माणका लागि भारतसँग भएको सम्झौताबमोजिम स्थानीय सरकारको करको बाधा हटाएर छिटो कार्य प्रारम्भ गर्नुपर्ने माग गरे । उनले प्रदेशस्तरीय मेडिकल कलेज निर्माणको बजेट फ्रिज भएको र काठमाडौँ तराई दु्रतमार्ग छिटो निर्माण गर्न आग्रह गरे ।

स्वतन्त्र सांसद महावीर पुनले म्याग्दीलाई हिमाली जिल्ला घोषणा गरिए पनि पाउनुपर्ने सहुलित प्राप्त नभएकोमा ध्यानाकर्षण गराए । उनले राणाकालदेखि मुलुकमा भाइरसका रूपमा रहेको नातावाद, कृपावाद र चाप्लुसीवादबाट मुक्त हुन सक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?