© 2026
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो । बढेको भाडादर आजैबाट लागू भएको छ ।
अब यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढेको छ । तराईको बाटोमा हुने सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको विभागले जनाएको छ ।
खाडी मुलुकमा चर्किएको युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिसँगै मूल्यमा असर पर्दा नेपालमा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ ।
तेलको मूल्य बढेसँगै व्यवसायीहरूले भाडादर समायोजन गर्न सरकारलाई दबाब दिँदैआएका थिए । सोही दबाबका बीच सरकारले सार्वजनिक सवारीको भाडा समायोजन गरेको हो ।