Butwal Today

उद्योग संघले थाल्यो उद्योगीका गुनासा र चुनौतीबारे अन्तरसंवाद

२५ चैत्र २०८२, बुधबार
अ+
अ-

बुटवल । रूपन्देही उद्योग संघले समस्यामा परेका उद्योगहरूको स्थलगत भ्रमण गर्दै उद्योगीका गुनासा र चुनौतीबारे अन्तरसंवाद सुरु गरेको छ । उद्योग क्षेत्रमा देखिएका कच्चा पदार्थको अभाव, बढ्दो मूल्यवृद्धि, निर्यातमा जटिलता, पटक–पटक विद्युत् लाइन काटिने समस्या लगायतका विषयमा संघले उद्योगीहरूसँग प्रत्यक्ष छलफल थालेको हो ।

संघले अभियानको सुरुआत रूपन्देहीको मैनहियामा सञ्चालित नेपालकै सबैभन्दा ठूलो र एक मात्र फ्रेन्च फ्राइ उत्पादक उद्योग ‘फस्ट च्वाइस फुड्स प्रा.लि.’को अवलोकन गरेको छ । संघका पदाधिकारीहरूले उद्योगको उत्पादन प्रक्रिया, कच्चा पदार्थ आपूर्ति, निर्यात अवस्था तथा सञ्चालनमा देखिएका समस्या बारे जानकारी लिएको हो ।

संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्योग सञ्चालनमा देखिएका नीतिगत समस्याका विषयमा संघले निरन्तर पैरवी गर्दै आएको बताए । उनले नेपाल उद्योग परिसंघको सहकार्यमा समस्या समाधानका लागि संघले पहल गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष पराजुलीले उद्योगीहरूलाई आफ्नो समस्या संस्थागत रूपमा संघमा जानकारी गराउन आग्रह गर्दै अधिकांश उद्योगका समस्या समान प्रकृतिका भएकाले सामूहिक रूपमा समाधान खोज्नुपर्नेमा जोड दिए ।

संघका महासचिव सुमन बस्यालले उद्योगीहरूको समस्या समाधानका लागि संघले अभियानकै रूपमा उद्योग भ्रमण सुरु गरेको बताए । विशेषगरी निर्यातजन्य उद्योगहरूले भोगिरहेका नीतिगत समस्या समाधानका लागि संघले संस्थागत पहल गर्ने उल्लेख गरे । उद्योग क्षेत्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उनको भनाई थियो ।

उद्योगका सञ्चालक कृष्ण प्रसाद पौडेलले आयात प्रतिस्थापन गर्दै निर्यातमुखी उत्पादन गर्ने लक्ष्यसहित उद्योग सञ्चालन गरिएको बताए । उनले उद्योगमा हालसम्म दुई अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको जानकारी दिए । निर्यातमा कानुनी जटिलता रहेको उल्लेख गर्दै उनले आलु उत्पादन वृद्धि गर्न सरकारी नीति कमजोर रहेको गुनासो गरे। उद्योगले किसानलाई बजारको ग्यारेन्टी दिन बजार मूल्यभन्दा बढी मूल्यमा आलु खरिद गरिरहेको समेत बताए ।

उद्योगका प्रबन्धक लक्ष्मी पौडेलले विश्व बजारमा प्रवेश गरेपछि उत्पादनको सम्भावना बढेको बताए। उनले निर्यातमा देखिएका कानुनी जटिलता सहज बनाउनु पर्नेमा जोड दिए । खुल्ला सिमानाका कारण कम गुणस्तरका भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्दा समस्या भएकाले सम्वन्धित निकायको ध्यान जानुपर्ने उनले बताए ।

रूपन्देही क्षेत्र आलु उत्पादनका लागि निकै उपयुक्त माटो रहेको उल्लेख गर्दै किसानलाई बजारको ग्यारेन्टीबारे थप जानकारी गराउन आवश्यक रहेको समेत उनले बताए । ठूलो परिमाणमा उत्पादन वृद्धि गर्न किसान, उद्योग र सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाई थियो । गुणस्तरलाई विशेष ध्यान दिँदै उद्योग सञ्चालन गरिएको बताउँदै उनले कृषक,उद्योग र राज्यको सामुहिक प्रयास अपरिहार्य रहेकोमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?