© 2026
बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य (खुला) पदमा उम्मेदवारी दिएका छन्। उनले यही चैत २९ र ३० गते काठमाडौँमा हुने नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा कार्यकारिणी सदस्य (खुल्ला) पदमा उम्मेदवारी दिएका हुन्।
देशकै अगुवा संघहरुमध्येको एक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष रहेका अर्यालले देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा मुख्य प्रतिनिधिलाई आफुलाई मत दिन आह्वान गरेका छन्।
अर्यालले व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिएको उल्लेख गर्दै अर्यालले आफ्नो पक्षमा साथ, समर्थन र मत दिन सम्पूर्ण प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।
निर्वाचित भएपछि आफूले शुरु गर्न चाहेका कामहरुको सूचीसमेत उनले सार्वजनिक गरेका छन्। उनले उद्योग तथा वाणिज्य क्षेत्रको सुदृढीकरणका क्षेत्रमा काम गर्ने बताएका छन्।
उनको प्रतिवद्धता अनुसार क, ख र ग वर्गका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूको छुट्टाछुट्टै समूह गठन गरी नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। साथै, कर, राजश्व, भन्सार, उद्योग तथा वाणिज्यसम्बन्धी आधारभूत जानकारीसहित अन्तर्देशीय व्यापारका विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए।
यस्तै, उनले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको सचिवालयलाई चुस्तदुरुस्त बनाउँदै स्थानीय स्तरमा उद्योग, व्यापारमैत्री पूर्वाधार विकास तथा आर्थिक एजेन्डामा बहस चलाउने वातावरण निर्माण गर्ने बताए।
अर्यालले स्थानीय तहसँग सहकार्य गर्दै स्थानीय उत्पादनको लागत घटाउने र बजार प्रवर्द्धनमा सहजीकरण गर्ने, साथै प्राकृतिक स्रोतमा आधारित उद्योगमार्फत रोजगारी सृजना गर्ने लक्ष्य रहेको पनि उल्लेख गरे।
त्यसैगरी, उनले महासंघअन्तर्गत जिल्ला र नगर तर्फका कार्यकारिणी सदस्यहरूको भूमिका थप प्रभावकारी बनाउन विषयगत कार्यविभाजन गरी क्षमता अभिवृद्धि तथा संघहरूबीच समन्वय बढाउने योजनासमेत अघि सारेका छन्।
चैत २९ र ३० गते हुने ६० औं वार्षिक साधारणसभा तथा निर्वाचनका लागि उपाध्यक्ष र कार्यकारिणी समिति सदस्य पदका लागि यो संख्यामा उम्मेदवारी परेको हो । महासंघ निर्वाचन समितिका अनुसार चार उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ भने ६९ कार्यकारिणी समिति सदस्यका लागि १३२ व्यवसायीले मनोनयन दर्ता गरेका छन् ।
महासंघको साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन निर्वाचित कार्यकारिणी समितिले गर्नेछ । कार्यकारिणी समितिमा सातवटै प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पदेन सदस्य हुनेछन् भने अध्यक्षले ६ जना सदस्य मनोनित गर्न पाउने विधानको व्यवस्था रहेको छ । महासंघको संशोधित विधानअनुसार जिल्ला–नगरतर्फ दुई उपाध्यक्ष र वस्तुगत तथा एशोसिएट समूहमा एक÷एक उपाध्यक्ष हुने व्यवस्था गरिएको छ ।
वस्तुगत उपाध्यक्षमा श्रेष्ठको समर्थनमा शिवप्रसाद घिमिरे र ढकालको प्यानलबाट नरेशलाल श्रेष्ठको उम्मेदवारी परेको छ । यस्तै, एशोसिएट समूहमा ढकाल प्यानलबाट ज्योत्सना श्रेष्ठ र श्रेष्ठ प्यानलबाट प्रबलजंग पाण्डे निर्वाचनमा होमिएका छन् ।
ढकाल समर्थित एशोसिएट उपाध्यक्ष श्रेष्ठको समूहबाट सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, गोपाल खनाल, चन्द्र ढकाल, जमुना पौडेल, जश श्रेष्ठ, देशबन्धु बस्नेत (अजित), विनोद ढकाल, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमलसिना, शैलेन्द्र गुरागाईं, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, शोभा ज्ञवाली, सन्दीप अग्रवाल चुनावी मैदानमा छन् ।
यसैगरी श्रेष्ठ समर्थित एशोसिएट उपाध्यक्ष पाण्डेको प्यानलबाट अविज्ञा मल्ल, अम्बिका प्रसाद पौडेल, बाबुकाजी कार्की, डोलराज अधिकारी, दिवस न्यौपाने, हेमन्त गोल्छा, ईश्वर जीसी, जुना माथेमा, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, राजेश कुमार अग्रवाल, ऋषि अग्रवाल, आरएस भण्डारी, अनुमप राठी, शक्तिकुमार बेगानी, सुशील थापा, सुयश प्याकुरेल, सुरज उप्रेती र उज्वल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
वस्तुगततर्फ श्रेष्ठ समर्थित शिवप्रसाद घिमिरे प्यानलबाट अरनिको राजभण्डारी, रविन पुरी, राजकुमार कार्की, बसन्त चन्द्र मरहठ्ठा, सुनिता न्हेम्हाफुकी, धनप्रसाद लामिछाने, एब बहादुर थापा मगर, धर्मराज सापकोटा, रघुनन्दन मारुले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, होमप्रसाद घिमिरे, राजेशभक्त श्रेष्ठ, ध्रुव बहादुर गौतम, संघर्ष विष्ट, नानीराज घिमिरे तथा विश्वनाथ खनाल र कृष्णप्रसाद अवालले उम्मेदवारी दिएका छन् ।
वस्तुगततर्फ ढकाल समर्थित नरेशलाल श्रेष्ठ समूहबाट कमला श्रेष्ठ, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदुर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । सुनैना घिमिरे पाण्डे र सुधिर पराजुलीले पनि यही प्यानलबाट उम्मेदवारी दर्ता गराएका छन् ।