Butwal Today

निर्वाचनमा बोलेको कुरा पूरा गर 

२४ चैत्र २०८२, मंगलवार
अ+
अ-

आज विश्व स्वास्थ्य दिवस । विगतमा जस्तै यो बर्षपनि ‘स्वास्थ्य सुरुवात आशादायी भविष्य’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाईदैछ ।

पछिल्लो समय नेपालमा नयाँ सरकार बनेकोले हरेक नागरिकले स्वास्थ्य अधिकार पाईन्छ भन्ने आशा गरेका छन् । सरकारले बाचा समेत गरेको छ– पैसा नभएकै कारण कसैको ज्यान जाँदैन ।

प्रधानमन्त्री बालेनले निर्वाचनको क्रममा हरेक नागरिकको स्वास्थ्य उपचार पाउने अधिकारको ग्यारेन्टी गर्ने प्रतिवद्धता जनाएका थिए । अव गर्ने बेला आएको छ । कोही पनि नेपालीले पैसा नभएकै कारण स्वास्थ्य उपचार पाउने अधिकारबाट बञ्चिन हुन नपरोस् । नेपालमा भने यो दिवस धेरै वर्षदेखि औपचारिकतामै सीमित बनेको छ ।

नेपालमा यो दिवस लामो समयदेखि मनाइँदै आइएको छ । तर, अहिलेसम्म औपचारिकताकै लागि मनाएको भान हुने गरेको छ । किनभने नागरिकले स्वास्थ्य बिमा बाहेक थप केहीपनि सुविधा नपाउने अवस्था छ ।

कत्तिसम्म भने अझैपनि धेरै नेपाली स्वास्थ्यको पहुँचबाट टाढा छन् । सुदूरपश्चिममा सिटामोल समेत नपाउने अवस्था आजको कटु यथार्थ हो । सवै नागरिकले जबसम्म समान स्वास्थ्यको पहुँच प्राप्त गर्दैनन तबसम्म यो दिवस केवल नारामै सीमित हुनेछ । केवल दिवस मनाउनुको औपचारिकतामात्रै पूरा हुनेछ ।

अब नयाँ सरकारमार्फत सबै नागरिकले जस्तोसुकै परिस्थितिमा पनि आफूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा आर्थिक कठिनाइको सामना नगरी प्राप्त गर्ने अवस्थाको सुनिश्चितता अवको पहिलो सर्त हुनुपर्दछ ।

विशेषगरी कमजोर आर्थिक अवस्था भएकाहरू स्वास्थ्य खर्चका कारण गरिबीमा पर्नबाट बचाउन सरकारले पहल गरोस् । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले अझैपनि करिव चार अर्ब मानिसले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको र दुई अर्ब मानिस स्वास्थ्य उपचारका कारण हुने खर्चले गर्दा आर्थिक कठिनाइको सामना गरिरहेको रिपोर्ट सार्वजनिक गरेको छ ।

तसर्थ यो दिवसले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र आर्थिक कठिनाइ हुनबाट जोगाउनका लागि विभिन्न कदम चाल्न सकारात्मक प्रेरणा प्रदान गरोस् । अनिमात्र यो दिवस मनाउनुको सार्थकता रहन्छ ।

नेपालको संविधानले हरेक नागरिकको स्वास्थ्य सेवामा पहुँच हुने ग्यारेन्टी गरेको छ तर अहिलेसम्म यो कुरा व्यवहारमा लागू भएको छैन् । अझैपनि दूरदराजका नागरिकहरू प्रभावकारी स्वास्थ्य उपचार नपाएरै मनुपर्ने अवस्था छ ।

सुदूर पश्चिमका महिला सुत्केरी सुविधा नपाउँदा पेटमा भएको बच्चासहित मृत्युको मुखमा पुग्न विवस छन् । कुनै ठूलो रोग लाग्यो भने मानिसको बिचल्ली हुने अवस्था छ । विरामी मानिसले सवै सम्पत्ति विक्री गरेरपनि नभ्याउने अवस्था छ ।

अतः सरकारले हरेक नागरिकको स्वास्थ्य उपचारको ग्यारेन्टी गर्नुपर्दछ । स्वास्थ्यमा हुने खर्चका कारण गरिबीमा पर्नबाट जोगाउने कानुन निर्माण र कार्यान्वयन गर्ने, आवश्यक स्वास्थ्य सेवाको व्यवस्थाका लागि पर्याप्त बजेट छुट्याउने लगायत विशेषगरी कम आय भएका वा दीर्घकालीन रोग भएका व्यक्तिका लागि सेवा शुल्क घटाउने वा हटाउने विषयमा नयाँ सरकारको ध्यान जाओस् ।

तीन बर्ष स्थापित नयाँ दलले दुई तिहाई नजिकको बहुमतका साथ सरकार बनाएको छ । यो सरकारप्रति आम नेपाली जनताको ठूलो स्नेह र माया छ । त्यही भएर जनताले करिव दुई तिहाई नजिक पु¥याएका छन । जसरी सरकारप्रति जनताको विश्वास बढेको छ, त्यसरी नै सरकारले जनतालाई सेवा दिने कुरामा खुट्टा कमाउने काम नगरोस् ।

बालेनले चुनावी दौडका क्रममा भनेका छन– पैसा नभएर कोही मर्नुपर्ने छैन । अतः आज स्वास्थ्य दिवस पनि हो । नयाँ सरकारले स्वास्थ्य निशुल्क घोषणा गरोस् ।

अझैपनि मुटु, मृगौला र क्यान्सरका विरामीले प्रभावकारी उपचार सेवा पाउन सकेका छैनन् । अव सरकारले सवै नागरिकलाई स्वतः स्वास्थ्य विमा भएको घोषणा गरोस् । निर्वाचनमा गरेको बाचा पूरा गर्नेतर्फ बालेन सरकारको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?