Butwal Today

पेट्रोलियम पदार्थमा लगाएको कर घटाउँदा इन्धनको भाउमा के प्रभाव पर्छ ?

२४ चैत्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

मध्यपूर्वमा फैलिएको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य उच्च भएसँगै भन्सार करमा छुट दिने निर्णय गरेको हो।

अहिले पेट्रोल र डिजेलमा पूर्वाधार करबापत् प्रतिलिटर १० रुपैयाँ लाग्दै आएको छ। सरकारले त्यसलाई घटाएर प्रतिलिटर ५ रुपैयाँमा झारेको हो। त्यस्तै पेट्रोलमा २५.२३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १२.०३ रुपैयाँ भन्सार महसुल लाग्दै आएकोमा त्यसमा पनि आधा घटाइएको छ।

मन्त्रिपरिषदको निर्णयअनुसार पेट्रोलको भाउमा प्रतिलिटर साढे १७ रुपैयाँ तथा डिजेल र मट्टितेलको भाउमा प्रतिलिटर ११ रुपैयाँ घट्नेछ।

अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण सुरु गरेपछि विश्व तेल बजारमा ठूलो उथलपुथल मच्चिएको छ।सोमबारसम्म आइपुग्दा अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड प्रतिब्यारेल ११०.४५ डलरमा कारोबार भइरहेको थियो भने अन्तर्राष्ट्रिय मानक ब्रेन्ट क्रुड १०८.७६ डलरप्रति ब्यारेलमा स्थिर थियो।

इरानले होर्मुज जलसाँघु बन्द गरेपछि विश्वको २० प्रतिशत तेल आपूर्तिमा अवरोध आएको छ। होर्मुज जलसाँघुको बन्दीले खाडीबाट तेल निकाल्न नसकिने भएकाले इराक र कुवेत लगायतका मुलुकहरूले मार्च २०२६ को सुरुदेखि नै आफ्नो उत्पादन कटौती गर्न बाध्य भए।

विश्व बजारमा तेलको मूल्य आकाश छुँदा नेपालजस्तो आयातमा निर्भर मुलुकलाई सीधो मार पर्नु स्वाभाविक छ। नेपाल आयल निगमले आयात गर्ने सम्पूर्ण पेट्रोलियम पदार्थ अन्तर्राष्ट्रिय बजारको मूल्यमा खरिद गर्नुपर्ने हुन्छ। यसमाथि भन्सार महसुल र पूर्वाधार विकास करको थप भार उपभोक्ताले बेहोर्दै आएका थिए।

यी दुवै करमा एकसाथ ५० प्रतिशत छुट दिइएको भए पनि, उपभोक्ताले पाउने वास्तविक राहत नेपाल आयल निगमले नयाँ मूल्य सूची सार्वजनिक गरेपछि मात्र थाहा हुनेछ। एकातिर सरकारले कर घटाएको छ, अर्कातिर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य रेकर्ड उचाइमा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?