Butwal Today

नेपालगञ्जमा अतिक्रमण हटाउने अभियान तीव्र

२४ चैत्र २०८२, मंगलवार
अ+
अ-

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक सडक, फुटपाथ र सहरी संरचना अवरुद्ध बनाउने गरी निर्माण गरिएका अवैध टहरा र संरचना हटाउने अभियान फेरि शुरु गरेको छ ।

सार्वजनिक स्थलमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सूचना प्रकाशित गरी व्यवसायी तथा टहरा सञ्चालकलाई पटक–पटक सचेत गराइएको भएपनि बेवास्ता गरेका कारण उपमहानगरका प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

उनका अनुसार बजार क्षेत्रमा सडक छेउका टहरा तथा अवरोधकारी संरचनाले हिँडडुलका लागि समस्या सिर्जना गर्दै आएका थिए । ‘‘नेपालगञ्जलाई सहरी व्यवस्थापनको आदर्श नमूना बनाउन हामीले अपांगमैत्री सडक निर्माणको परियोजना अघि बढाएका छौँ,’’ प्रमुख विष्टले भने, ‘‘तर सार्वजनिक सूचना जारी गर्दा पनि अतिक्रमण हटाउन व्यवसायी गम्भीर नभएपछि डोजर प्रयोग गर्नुपरेको हो ।’’

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माका अनुसार पालिकाले पटक–पटक सूचना जारी गरी टहरा हटाउन समय दिएको थियो । “हामीले कानुनी प्रक्रिया पूरा गरेर, व्यवसायीलाई पर्याप्त समय दिएर मात्र अतिक्रमण हटाउने काम सुरु गरेका हौँ,” अधिकृत शर्माले भने, “तर सूचना बेवास्ता गरेपछि उपमहानगरले डोजर चलाएरै हटाउनुपर्ने अवस्था आयो ।”

उपमहानगरले गणेशमान चोकदेखि धम्बोझी चोक सम्म अतिक्रमण हटाउने काम शुरु गरेको छ ।
बीपी चोकदेखि धम्बोझी चोक हुँदै पुष्पलाल चोकसम्मको मुख्य बजार क्षेत्रमा अब अपांगमैत्री संरचना, व्यवस्थित पार्किङ, सुगम पैदलमार्ग र सफा सडकको अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?