© 2026
नवलपरासी,पश्चिम् ।
प्रधानमन्त्री बालेन शाहले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग सिंहदरबारमा गरेको छलफलमा पश्चिम नवलपरासीको विकास र सीमा समस्याले मुख्य प्राथमिकता पाएका छन् । उक्त अन्तरक्रियामा नवलपरासी क्षेत्र नं. १ का सांसद विक्रम खनाल र क्षेत्र नं. २ का सांसद नरेन्द्र कुमार गुप्ताले जिल्लाका ज्वलन्त मुद्दाहरू समेटिएको लिखित योजना प्रस्तुत गरे ।
छलफलमा सांसद खनालले नवलपरासीलाई नेपाल–भारत रणनीतिक पारवहन र कृषिको महत्त्वपूर्ण प्रवेशद्वारको रूपमा चित्रण गर्दै विविध विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । ६ वर्षदेखि अलपत्र हुलाकी राजमार्गको नारायण चोक–त्रिवेणी खण्ड तत्काल सम्पन्न गर्न र दाउन्नेको विकल्पमा भूताहा–संसारकोट–दुम्किबास सडक निर्माण गर्न , र सुस्तावासीलाई नागरिकता र लालपुर्जा उपलब्ध गराउन माग गरे ।
यस्तै छलफलमा सांसद गुप्ताले मुख्य गरी प्रधानमन्त्री तहबाट सम्बोधन हुनुपर्ने राष्ट्रिय गौरव र रणनीतिक योजनाहरूमा जोड दिए । रामग्राम स्तूप (भगवान बुद्धको अस्थिधातु स्थल), पण्डितपुर, देवदह र अनोमा घाटलाई एकीकृत गरी ‘बुद्ध सर्किट’ को रूपमा विकास गर्नुपर्ने , महेशपुर भन्सारलाई पूर्ण क्षमतामा सञ्चालन गरी यसलाई महेन्द्र राजमार्गसँग जोड्ने ४ लेन सडकको निर्माण कार्यमा तीव्रता दिन र जिल्लामा प्राविधिक शिक्षालयको स्थापना, पृथ्वी चन्द्र अस्पतालको क्षमता विस्तारका साथै पाल्ही बहुमुखी क्याम्पसको जग्गा स्वामित्व विवाद समाधान गर्न माग गरेका छन् ।
दुवै सांसदले जिल्लाको मुख्य आधार रहेको कृषि क्षेत्रका लागि मल, बीउ र सिँचाइको सुनिश्चितता गर्न आग्रह गरेका छन् । विशेष गरी गण्डक नहरको असमान सन्धि र यसको नियमित सञ्चालनका साथै उखु र केरा किसानको बजार व्यवस्थापनका लागि सरकारको हस्तक्षेपकारी भूमिकाको माग गरिएको छ । साथै, लामो समयदेखि थाँती रहेको सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या हल गरी लालपुर्जा वितरण गर्न समेत दुवै सांसदले एकै स्वरमा आग्रह गरेका छन् ।
छलफलमा लुम्बिनी प्रदेशका निर्वाचित सांसदहरूको सहभागिता रहेको थियो । सांसदहरूले उठाएका जिल्लाका विशिष्ट र रणनीतिक योजनाहरूलाई बजेट र नीतिगत प्राथमिकतामा राख्ने मा सांसदहरू आशावादी देखिएका छन् ।