© 2026
तेहरान ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीसहित दिएको कडा समयसीमा नजिकिँदै गर्दा पनि तेहरानले आफ्नो अडान नछाड्ने सङ्केत दिएका छन् । होर्मुज जलडमरूमध्य खोल्न दबाब बढ्दै जाँदा इरानले त्यसलाई बेवास्ता गर्दै सैन्य कारबाही जारी राख्ने जनाएको छ ।
इरानी सेनाले ट्रम्पको अभिव्यक्तिलाई ‘अहंकारी र आधारहीन धम्की’ भन्दै अस्वीकार गरेको छ । उनीहरूले पाँच हप्ताभन्दा बढी समयदेखि अमेरिका र इजरायलविरुद्ध जारी सैन्य कारबाहीमा कुनै कमी नआउने स्पष्ट पारेका छन् ।
ट्रम्पले मङ्गलबार मध्यरातसम्म इरानले रणनीतिक जलमार्गमा स्वतन्त्र आवागमन सुनिश्चित नगरे देशको महत्त्वपूर्ण पूर्वाधार ‘पूर्ण रूपमा ध्वस्त’ पारिने चेतावनी दिएका थिए । उनले इरानका पुल र विद्युत् केन्द्रहरू चार घण्टाभित्र नष्ट गर्न सकिने दाबीसमेत गरे ।
यस चेतावनीको जवाफमा इरानी सेनाको खताम अल–अन्बिया केन्द्रीय कमान्डले ट्रम्पलाई ‘भ्रमपूर्ण’ भन्दै अमेरिका र इजरायलविरुद्धको अभियान जारी रहने बताएको छ । उनीहरूले यसलाई ‘इस्लामका योद्धाहरूको दमन अभियान’ को निरन्तरता भएको उल्लेख गरेका छन् ।
यसैबीच, इजरायलले तेहरानसहित विभिन्न क्षेत्रमा इरानी ‘सैन्य पूर्वाधार’ लक्षित गर्दै नयाँ हवाई आक्रमणको लहर सुरु गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरान र नजिकको कराज क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् ।
इजरायली सेनाले इरानबाट आफ्नो क्षेत्रतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई हवाई सुरक्षा प्रणालीमार्फत अवरोध गर्ने प्रयास भइरहेको जनाएको छ । खाडी क्षेत्रभरि तनाव चुलिँदै जाँदा बहराइनमा हवाई आक्रमणको साइरन बजाइएको छ भने संयुक्त अरब इमिरेट्सले मिसाइल र ड्रोनलाई रोक्न सक्रिय रहेको जनाएको छ ।
साउदी अरबले पनि आफ्नो पूर्वी क्षेत्रमा प्रक्षेपण गरिएका सातवटा ब्यालेस्टिक मिसाइलहरू अवरोध गरी नष्ट गरेको दाबी गरेको छ, जसका भग्नावशेष ऊर्जा संरचनानजिक खसेको बताइएको छ ।
कूटनीतिक प्रयासतर्फ, प्रस्तावित ४५ दिने युद्धविराम अझै टुङ्गोमा पुगेको छैन । पाकिस्तान, इजिप्ट र टर्कीको मध्यस्थतामा आएको प्रस्तावलाई सुरुमा सकारात्मक सङ्केत दिइए पनि पछि ट्रम्पले त्यसलाई पर्याप्त नभएको बताएका छन् । इरानले पनि युद्धविराम अस्वीकार गर्दै द्वन्द्वको ‘निश्चित अन्त्य’ आवश्यक रहेको जनाएको छ ।
अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सका अनुसार इरानले भविष्यका आक्रमण रोक्ने ग्यारेन्टी र दक्षिणी लेबनानमा आफ्नो सहयोगी हिजबुल्लाहमाथि हुने आक्रमण अन्त्य गर्न माग राखेको छ । प्रस्तावअनुसार इरानले होर्मुज जलडमरूमध्य पुनः खोल्दै प्रत्येक जहाजबाट करिब २० लाख डलर शुल्क लिने र त्यसलाई ओमानसँग बाँड्ने योजना रहेको बताइएको छ ।
यसै सन्दर्भमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले होर्मुज क्षेत्रमा उत्पन्न सङ्कटबारे प्रस्तावमाथि मतदान गर्ने तयारी गरेको छ । प्रारम्भिक मस्यौदामा बल प्रयोगको अनुमति दिने प्रावधान भए पनि स्थायी सदस्य राष्ट्रहरूको आपत्तिपछि त्यसलाई कमजोर बनाइएको स्रोतहरूले बताएका छन् ।
फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वपछि इरानले उक्त जलमार्ग प्रभावकारी रूपमा अवरुद्ध गर्दै आएको छ, जसका कारण विश्वव्यापी तेल तथा ग्यास आपूर्ति प्रभावित भएको छ । विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति यही मार्गबाट हुने भएकाले यसको प्रभाव विश्व बजारमा प्रत्यक्ष देखिएको छ ।
यसबीच, इरानले अमेरिकी धम्कीलाई ‘राज्य आतङ्कवाद’ को संज्ञा दिँदै त्यसले युद्ध अपराध र मानवीय सङ्कट निम्त्याउने चेतावनी दिएको छ । इरानी रिभोलुसनरी गार्ड्सले हालैको आक्रमणमा आफ्ना गुप्तचर प्रमुख माजिद खादेमिको मृत्यु भएको पुष्टि गर्दै ‘कडा प्रतिकार’ गर्ने जनाएको छ ।
इजरायलले भने कुद्स फोर्सका वरिष्ठ कमान्डर असगर बघेरी मारिएको दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलमाथि आक्रमण गर्ने जो कोहीलाई पनि जहाँसुकै पुगेर कारबाही गरिने चेतावनी दिएका छन् ।
यो अवस्थाले क्षेत्रीय द्वन्द्व थप चर्किने र विश्व ऊर्जा सुरक्षामा गम्भीर असर पर्ने सङ्केत देखिएको छ । रासस