Butwal Today

छत्रगञ्जबासीले सांसदलाई दिए बाँदर र बँदेलले सताएको तस्वीरसहितको मायाको चिनो

२४ चैत्र २०८२, मंगलवार
अ+
अ-

बुटवल । रुपन्देहीमा रहेका अर्घाखाँचीको छत्रगञ्जका बासिन्दाले प्रतिनिधि सभा सदस्यहरुलाई अनौठो मायाको चिनो दिएका छन्।

छत्रगञ्ज रुपन्देही समाजले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा  नव निर्वाचित सांसदलाई बधाई दिने गरी आयोजना गरेको कार्यक्रममा समाजले अर्घाखाँचीमा रहेको मूख्य समस्याहरुको सांकेतिक तस्वीरसहितको मायाको चिनो दिएका हुन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा रास्वपाबाट निर्वाचित हरि प्रसाद भुसाल र अर्घाखाँचीमा जन्मेहुर्केकी समानुपातिक सांसद मञ्जु ज्ञवाली भुसाललाई बाँदर र बँदेलले हैरानी पुर्‍याएको भन्दै मायाको चिनोस्वरुप प्रदान गरिएको बधाईपत्रमा उल्लेख गरिएको छ। बधाई पत्रमा बाँदर र बँदेलका कारण खेतीबालीमा भइरहेको क्षतिबाट चिन्तित र प्रभावित भएको अवस्थालाई चित्रित गरिएको छ।

अर्घाखाँचीमा बाँदर र बँदेलले हैरानी पुर्‍याएकाले सांसदहरुको ध्यानाकर्षण गराउने उदेश्यका साथ मायाको चिनोका रुपमा प्रदान गरिएको बधाईपत्रमा सांकेतिक रुपमा समस्याको जानकारी गराएको समाजका अध्यक्ष सिद्धार्थ पन्थीले जानकारी दिए।

उनले जननिर्वाचित सांसदहरुले जनताका समस्यालाई सम्झिरहुन् भन्ने उदेश्यका साथ बधाईपत्रमै उल्लेख गरेर प्रदान गरेको बताए। ‘उहाँहरुलाई दिइएको मायाको चिनो स्वरुपको बधाई पत्रमा बाँदर र बँदेलका कारण भोग्दै आएको समस्या र अरु समस्याहरु समेत समेटेर सांकेतिक तस्वीर राखेर दिएका छौं, उनले भने-यो मायाको चिनो उहाँहरुले आफ्नो घरमा भित्तामा राख्नुभयो भने जनताका समस्यालाई सधै सम्झिइरहनुहुनेछ भन्ने हाम्रो उदेश्य हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?