© 2026
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले स्थानीय तहलाई ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’मुक्त बनाउने अभियानलाई तीव्र बनाएको छ। प्रतिभा रावल नेतृत्वको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले व्यापक सरुवा अभियानमार्फत उक्त नीति कार्यान्वयनमा ल्याएको हो।
मन्त्रालयका अनुसार हालसम्म ४६० वटै गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था अन्त्य भइसकेको छ। मन्त्रालयकी कर्मचारी प्रशासन महाशाखा प्रमुख पार्वती शर्मा का अनुसार निमित्तका भरमा सञ्चालन भइरहेका ७८ गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइसकिएको छ। यस्तै, चैत १६ गते ४६ नगरपालिकामा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत पठाइसकिएको र बाँकी ४३ नगरपालिकामा पनि उपसचिव खटाउने तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्री रावलले चैत १३ गते जिम्मेवारी सम्हालेसँगै ‘निमित्तमुक्त पालिका’ अभियानलाई प्राथमिकतामा राखेकी हुन्। जिम्मेवारी सम्हालेको तीन दिनमै ६३ उपसचिवको सरुवा गर्दै ४९ जनालाई नगरपालिकामा खटाइएको थियो। त्यसपछि चैत १९ गते ७८ शाखा अधिकृतलाई गाउँपालिकामा पठाइएको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार तुलसीपुर, घोराही, बुटवल र जनकपुरधाम उपमहानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ। हालसम्म ४२ नगरपालिका र एउटा उपमहानगरपालिका गरी ४३ स्थानीय तहमा अझै निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका छन्।
मन्त्रालयका अनुसार ती स्थानमा पनि छिट्टै स्थायी प्रमुख प्रशासकीय अधिकृत पठाइनेछ।मन्त्रालयले निमित्त व्यवस्थाका कारण निर्णय प्रक्रियामा ढिलाइ, उत्तरदायित्व कमजोर हुने र सेवा प्रवाह प्रभावित हुने समस्या देखिएको उल्लेख गरेको छ। त्यसलाई अन्त्य गर्दै दरबन्दीअनुसार कर्मचारी खटनपटन गरी स्थानीय तहको प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्य लिइएको छ।सरकारले सरुवा आदेश उल्लङ्घन गर्ने कर्मचारीमाथि कारबाही गर्ने चेतावनी समेत दिएको छ। मन्त्री रावलले खटाएको स्थानमा जान नमानेका कर्मचारीलाई मार्गप्रशस्त गर्न निर्देशन दिएकी छन्।