© 2026
काठमाडौं । केपी शर्मा ओली र रमेश लेखक १२ दिन हिरासतमा बसेपछि रिहा हुने भएका छन्। सर्वोच्च अदालतको परमादेशसँगै उनीहरूलाई थप थुनामा नराख्ने बाटो खुलेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले चैत १४ गते पक्राउ गरेका ओली र लेखकलाई ज्यानसम्बन्धी कसुरको अनुसन्धानका क्रममा हिरासतमा राखिएको थियो। ओली स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहे पनि प्रहरी नियन्त्रणमै थिए भने लेखकलाई महाराजगञ्जस्थित प्रहरी गणमा राखिएको थियो।
सोमबार न्यायाधीश विनोद शर्मा र सुनील पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरे पनि परमादेश जारी गर्दै अब उप्रान्त म्याद नथप्न आदेश दिएको छ। अदालतले हालसम्मको हिरासतलाई कानुनअनुसार ठहर गरे पनि अनुसन्धानका अधिकांश काम सकिएको भन्दै थप थुनामा राख्न आवश्यक नदेखिएको उल्लेख गरेको छ।
अदालतको आदेशअनुसार तेस्रो पटक थपिएको म्याद सकिएपछि उनीहरू स्वतः रिहा हुनेछन्। अब प्रहरीले मुद्दा दायर गर्ने वा हाजिरी जमानीमा छाडेर अनुसन्धान जारी राख्ने भन्नेबारे निर्णय लिनुपर्नेछ। यस प्रकरणमा जाँचबुझ आयोगको सिफारिसका आधारमा अनुसन्धान भइरहेको छ। मुलुकी अपराध संहिता २०७४ का दफा १८१ र १८२ अनुसार दोषी ठहर भए अधिकतम १० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ।
अदालतले सहअभियुक्त छविलाल रिजाललाई यसअघि हाजिरी जमानीमा छोडिएको, ओलीको स्वास्थ्य अवस्था र दुवैजनाको पारिवारिक शोक अवस्थालाई समेत निर्णयको आधार बनाएको हो ।