Butwal Today

दुई दिनको सार्वजनिक बिदाले ७ लाख ७५ हजार लिटर इन्धन जोगिने अनुमान

२३ चैत्र २०८२, सोमबार
अ+
अ-

बुटवल । सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेपछि करीब १० प्रतिशत इन्धन खपत कम हुने आयल निगमका अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार सरकारले दिएको बिदाको पालना गर्दै इन्धन खपतमा ध्यान दिएमा करीब १० प्रतिशत इन्धन खपत कम हुन्छ।

नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर २ सय २ रुपैयाँ र डिजेल एवं मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ८२ रुपैयाँ पुगेको अवस्थामा सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

सातामा दुई दिन बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन् । ‘बिदा पायौं भनेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने नै हो,’ प्रवक्ता ठाकुरले भने ।

सरकारले आइतबार थप बिदा दिने निर्णय गरे पनि पेट्रोलियम पदार्थको खपतमा ठूलो योगदान नहुने निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट बताउँछन् । ‘तर, इन्धन खपत कम गर्न बिदा दिने निर्णयलाई सकारात्मक रूपमा हेर्नुपर्छ,’ उनले भने, ‘सरकारका कार, जिपलगायत साना सवारी छन् । यो निर्णयले थोरै परिमाणमा भए पनि पेट्रोलको खपत घटाउँछ ।’

आइतबार थप बिदापछि करिब १० प्रतिशत इन्धन खपत कम हुने आकलन रहेको उनले जानकारी दिए । निगमका अनुसार मुलुकमा दैनिक २५ लाख लिटर पेट्रोल, ५० लाख लिटर डिजेल र ४५ हजार टन खाना पकाउने ग्यास खपत हुँदै आएको छ । पेट्रोल र डिजेलको कुल उपभोगको १० प्रतिशत अर्थात् ७ लाख ५० हजार लिटर इन्धन बचत हुने अनुमान छ ।

निगमका अनुसार अहिलेको मूल्यअनुसार दिनको ९० करोड ३७ लाख ५० हजार रुपैयाँको डिजेल खपत हुन्छ भने ५० करोड १८ लाख ७५ हजार रुपैयाँको पेट्रोलको खपत हुन्छ ।

यसरी दिनको १ अर्ब ४० करोड ५६ लाख रुपैयाँको इन्धन खपत भइरहेको छ । ‘ठूलो परिमाणमा इन्धन खपत घटाउन वा पैसा जोगाउन सवारीमा जोर–बिजोर प्रणाली नै लागू गर्नुपर्छ,’ भट्टले भने । अहिले पेट्रोलियम पदार्थमा मूल्यवृद्धिले निगमको घाटा बढाएको छ । निगमलाई पेट्रोलमा भन्दा डिजेलमा धेरै नोक्सानी रहेको उनले बताए । अहिलेको मूल्यमा डिजेलमा प्रतिलिटर १२० रुपैयाँ, पेट्रोलमा ३४ रुपैयाँ र खाना पकाउने ग्यासमा ४१६ रुपैयाँ घाटा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?