© 2026
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक अवस्था अनुसार तयार गरिने बताएका छन्।
सोमबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित संसदीय बजेट कार्यालयसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले बजेटलाई यथार्थपरक र कार्यान्वयनमुखी बनाउने प्रतिबद्धता जनाए ।
‘हाम्रो अवस्था जे छ, त्यही आधारमा बजेट ल्याउँछौं । अघिल्लो वर्ष प्रयास गरे पनि प्राविधिक कारणले त्रुटि भयो, अबको बजेट वास्तविकतामा आधारित हुनेछ,’ मुख्यमन्त्री आचार्यले भने ।
उनले आयोजना बैंकमार्फत सिफारिस भएका योजनामात्रै बजेटमा समावेश गर्ने तयारी भइरहेको जानकारी दिए । योजना छनोटमा प्रणालीगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले योजना बैंकमार्फत योजना छनोट गर्ने परिपाटी विकास गरिने बताए।
कार्यक्रममा सभामुख तुलाराम घर्तीमगरले बजेट तर्जुमा प्रक्रियालाई वस्तुगत र प्रभावकारी बनाउन पहल भइरहेको बताए । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगर, उपसचिव लोकमणि पाण्डे तथा अर्थशास्त्री एवं पूर्व योजना आयोग सदस्य डा. सुदनकुमार वलीले बजेट प्रणाली, चुनौती र सुधारका उपायबारे प्रस्तुति दिएका थिए ।
छलफलमा संसदीय बजेट कार्यालय (पिबिओ) स्थापना आवश्यक रहेकोमा जोड दिइएको छ । बजेटको भाषा, संरचना, प्रभाव र औचित्य बुझ्न प्रदेश सभा सदस्यलाई सहयोग गर्ने संयन्त्रका रूपमा (पिओबी) लाई प्रदेशमा स्थापना गर्नुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा बजेट विश्लेषण तथा निगरानी संयन्त्रलाई संस्थागत गर्ने, वित्तीय पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने, बजेट अनुशासन सुधार गर्ने जस्ता नीतिगत सुझावहरू प्रस्तुत गरिएको थियो ।
साथै लैङ्गिक तथा सामाजिक समावेशीता, जलवायु उत्तरदायित्व, वित्तीय समन्वय, तथ्याङ्क प्रणाली तथा बजेट साक्षरता अभिवृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।