© 2026
बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयमा गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय सम्मेलन आयोजना हुने भएको छ ।
आगामी चैत ६ देखि ८ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा नेपाल, भारत र भुटानका करिब १२० जना अनुसन्धानकर्ता तथा सरोकारवाला सहभागी हुनेछन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको जीन बैङ्क, डब्लुडब्लुएन र डब्लुडब्लुएफ नेपालको संयुक्त आयोजनामा तथा रकफेलर फाउन्डेसनको सहयोगमा सम्मेलन आयोजना हुन लागेको हो ।
सम्मेलनले कृषि प्रणालीमा रूपान्तरणकारी परिवर्तनबारे गहन प्राज्ञिक बहस गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । विशेष गरी स्वदेशी ज्ञान, कृषि–पर्यावरणीय अभ्यास र पुनरुत्थानात्मक पद्धतिलाई एकीकृत गर्दै दिगो तथा प्रकृतिमैत्री कृषि प्रणाली विकासमा जोड दिइनेछ ।
सम्मेलनमा कृषि केवल खाद्य उत्पादनमा सीमित नभई जैविक विविधता, वातावरण, संस्कृति र जीविकोपार्जनसँग जोडिएको व्यापक प्रणाली भएको विषयमा छलफल केन्द्रित रहनेछ । सहभागीहरूले माटो, पानी, हावा र जैविक विविधताको पुनर्स्थापनामार्फत सहनशील कृषि प्रणाली निर्माणका उपायहरूबारे विचार आदान–प्रदान गर्नेछन् ।
“पुनरुत्थानशील भविष्यतर्फ: कृषि जैविक विविधता, पर्या–आध्यात्मिकता र जलवायु–अनुकूल कृषि एकीकरण” शीर्षकको मुख्य सत्र अन्तर्गत कृषि जैविक विविधता संरक्षण, पर्वतीय तथा हिमाली कृषि, जलवायु अनुकूल अभ्यास, पर्या–आध्यात्मिक कृषि र कृषि बजार प्रणालीलगायत सात प्रमुख विषयमा छलफल हुने जनाइएको छ ।
आधुनिक कृषि प्रणालीले उत्पादन बढाए पनि माटो क्षय, जैविक विविधता ह्रास र परम्परागत ज्ञानको क्षरणजस्ता चुनौती निम्त्याएको सन्दर्भमा सम्मेलनले पुनरुत्थानशील कृषिलाई दिगोपनभन्दा अगाडि बढेको अवधारणाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा मुख्य मन्तव्य, कार्यपत्र प्रस्तुति, प्यानल छलफल, प्रदर्शनी, पोस्टर प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिनेछन् । साथै ‘बुद्ध थाली’ जस्ता परम्परागत खानाका माध्यमबाट सजग भोजनको प्रवर्द्धनसमेत गरिनेछ ।
उक्त सम्मेलन रकफेलर फाउन्डेसनको सहयोगमा मुस्ताङ, मनाङ, लुम्बिनी र ललितपुरमा सञ्चालन भइरहेको ‘रेगाग्री’ परियोजनाको एक भाग हो । परियोजनाले स्थानीय बिउ संरक्षण, सामुदायिक जीन बैङ्क स्थापना, रैथाने बालीको पुनः प्रवेश तथा पोषण विश्लेषणजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सम्मेलनले हिमाली क्षेत्रका आनुवंशिक स्रोत संरक्षणका लागि “हिमालयन बीज कोष” स्थापना गर्ने सम्भावनासमेत खोज्नेछ । साथै स्थानीय उत्पादनको प्रवर्द्धन, बजार पहुँच विस्तार र नीतिगत सुधारका विषयमा साझा प्रतिबद्धता तय गरिनेछ ।
सम्मेलनको अन्त्यमा क्षेत्रीय घोषणापत्र जारी गर्दै स्थानीय कृषि जैविक विविधता संरक्षण, सहकार्य अभिवृद्धि र प्रकृतिमैत्री कृषि प्रणाली विकासका लागि साझा कार्यदिशा तय गरिने जनाइएको छ ।