© 2026
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भएको हारको पछाडि कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने पश्चिमा षड्यन्त्र रहेको निष्कर्ष निकालेका छन्। सोमबार पेरिसडाँडा स्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कार्य संयोजन समितिको बैठकमा बोल्ने नेताहरूले यस्तो धारणा राखेका हुन्। पहिलो दिन सात घण्टा चलेको बैठकमा एक दर्जनभन्दा बढी नेताहरूले निर्वाचन परिणामबारे धारणा राखेका थिए।
बैठकमा झलनाथ खनाल, अग्नी सापकोटा, वामदेव गौतम, जगन्नाथ खतिवडा लगायतका नेताहरूले जेनजी आन्दोलनदेखि निर्वाचनसम्मका गतिविधिमा ‘साम्राज्यवादी प्रभाव’ देखिएको बताएका थिए।नेता जगन्नाथ खतिवडाले जेनजी आन्दोलनका नाममा बाह्य शक्तिले नेपालमा प्रभाव विस्तार गरेको दाबी गर्दै कम्युनिस्ट आन्दोलन समाप्त पार्ने योजनाअन्तर्गत गतिविधि भएको आरोप लगाए। त्यस्तै, पूर्वप्रधानमन्त्री खनालले एमसीसी देखि निर्वाचनसम्मका घटनाक्रमको समीक्षा गर्दै कम्युनिस्ट दलहरूकै कमजोरी पनि हारको कारण भएको स्वीकार गरे। उनले सत्तालोलुप प्रवृत्ति र आन्तरिक विभाजनले आन्दोलन कमजोर भएको उल्लेख गरे।
बैठकमा सहभागी नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई जेनजी आन्दोलनसँग जोडेर प्रस्तुत गरिएको तथा त्यसमा बाह्य प्रभाव रहेको दाबी गरेका थिए। साथै, नेकपा संयोजक पुष्पकमल दाहालले लामिछानेलाई दिएको समर्थनले पार्टीभित्र नकारात्मक प्रभाव परेको टिप्पणीसमेत गरिएको थियो।
संयोजक प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा ४५ सदस्य सहभागी थिए। सोमबार बिहान ११ बजे सुरु भएको बैठक साँझ ६ बजेसम्म चलेको थियो। बैठकमा नेताहरूको धारणा राख्ने क्रम मंगलबार पनि जारी रहनेछ। सबै सदस्यले आफ्नो विचार प्रस्तुत गरेपछि नेकपाले नयाँ रणनीतिसहित आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ