Butwal Today

गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार बढी लाभान्वित

२२ चैत्र २०८२, आइतबार
अ+
अ-

गुल्मी ।

गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क औषधिसहितको बृहत् स्वास्थ्य शिविरबाट एक हजार ३०० नागरिकले लाभान्वित भएका छन् ।

खेलकुद तथा सांस्कृतिक युवा क्लबको आयोजना तथा वडा कार्यालयको समन्वयमा घमिर स्वास्थ्यचौकीमा उक्त शिविर सञ्चालन गरिएको थियो ।

क्लबका सचिव गोविन्द कार्कीका अनुसार शिविरमा एक सय ३८ जनाले ‘भिडियो एक्सरे’ तथा एक सय पाँच जनाले ‘इसिजी’ गराएका थिए । त्यस्तै, मधुमेह, रक्तचाप, थाइराइड, बाथ, दम, पेट, छाती तथा मुटुरोग, महिला तथा स्त्रीरोग, हाडजोर्नी, आँखा तथा नाक, कान, घाँटीसम्बन्धी रोगको विशेषज्ञ सेवा पनि उपलब्ध गराइएको थियो ।

शिविरमा चिकित्सकहरू डा. रमेश अर्याल, डा. सुनिल सुनार, डा. सुमन आचार्य, डा. सन्तोष बस्नेत, डा. विजय पाण्डे, डा. आशिष भुर्तेल र डा. सन्तोष पाण्डेलगायतले बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै बिरामीलाई परामर्श दिएका थिए ।

आयोजक संस्थाका सल्लाहकार मनोज कार्कीले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच अझै सीमित रहेकाले यस्ता शिविरले स्थानीयवासीलाई ठूलो राहत पुगेको बताए । “गाउँमै आएर विशेषज्ञ सेवा लिन पाउँदा बिरामीलाई समय र खर्च दुवै बचत भएको छ, यसबाट स्थानीय पनि निकै खुसी हुनुभयो”, उनले भने ।

शिविरमा सेवा लिनुभएकी स्थानीय महिला पुतली कार्कीले गाउँमै विशेषज्ञ डाक्टरबाट सेवा लिन पाउँदा आफूलाई निकै खुसी लागेको बताइन । “बिरामी हुँदा सामान्य जाँच गर्न पनि सदरमुकाम जानुपथ्र्यो, आज गाउँमै सबै सेवा लिन पाइयो, यस्ता प्रकारका शिविर बेलाबेलामा ल्याउनुपर्छ”, उनले भनीन ।

पछिल्लो समयमा जिल्लामा स्थानीय पालिका र सङ्घसंस्थाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यस्ता प्रकारका शिविरलाई निरन्तरता दिँदै जान थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?