Butwal Today

डढेलोले हरियाली निल्दै

हरेक वर्ष सुख्खा मौसम सुरु भएसँगै पाल्पाका हरियाली डाँडाकाँडा आगोको चपेटामा पर्न थाल्छन् । वनमा सल्किएको सानो झिल्को बिस्तारै भयावह डढेलोमा परिणत हुँदा त्यसको असर केवल रुख–बिरुवामै सीमित रहँदैन, बस्ती, जनजीवन र जैविक विविधतासम्म फैलिन्छ ।
२२ चैत्र २०८२, आइतबार
अ+
अ-

पाल्पा । गत वर्ष सुख्खा मौसममा नजिकको वन बाट सल्किएको आगोको कारण रिब्दीकोट गाउँपालिकामा भने ठुलो क्षति हुन पाएन ।

वगनासकाली गाउँपालिका यम्घाको सामुदायिक वनमा लागेको डढेलो तानसेन नगरको दमकल सुरक्षा निकायको सहायताले आगो नियन्त्रणमा आयो । हरेक वर्ष सुख्खा मौसम सुरु भएसँगै पाल्पाका हरियाली डाँडाकाँडा आगोको चपेटामा पर्न थाल्छन् ।

वनमा सल्किएको सानो झिल्को बिस्तारै भयावह डढेलोमा परिणत हुँदा त्यसको असर केवल रुख–बिरुवामै सीमित रहँदैन, बस्ती, जनजीवन र जैविक विविधतासम्म फैलिन्छ ।

पछिल्ला तीन वर्षको तथ्याङ्कले देखाउँछ—६ हजार ५५ हेक्टरभन्दा बढी वन क्षेत्रमा आगलागी भइसकेको छ भने यस क्रममा दुई जनाले ज्यान गुमाएका छन् ।

गत वर्ष रिब्दीकोट गाउँपालिकामा नजिकैको वनबाट सल्किएको आगोले त्रास त फैलायो, तर ठुलो क्षति हुन पाएन। यस्तै, बगनासकाली गाउँपालिका–यम्घाको सामुदायिक वनमा लागेको डढेलो तानसेन नगरपालिकाको दमकल र सुरक्षा निकायको सक्रियताले नियन्त्रणमा आयो । तर हरेक पटक यस्तै भाग्यले साथ दिने अवस्था भने छैन । स्थानीयहरू भन्छन्, “वनमा लागेको आगो कहिले बस्तीमा पस्छ भन्ने डर सधैँ रहिरहन्छ ।”

डिभिजन वन कार्यालयका अनुसार डढेलोको प्रमुख कारण मानवीय गतिविधि नै हो । व्यक्तिगत स्वार्थका लागि वनमा आगो लगाउने प्रवृत्ति अझै कायम छ । वर्षा याममा घाँस राम्रोसँग उम्रियोस्, च्याउ पलाओस् वा वन्यजन्तु धपाउन सजिलो होस् भन्ने सोचले आगो लगाउने परम्परा अझै कतिपय ठाउँमा जीवित छ ।

पाखा पानी सामुदायिक वनका सदस्य विष्णु कार्की भन्छन्, “पहिले दाउराका लागि वन जोगाउने चलन थियो, अहिले नयाँ पुस्ताले रहरले पनि आगो लगाउने गरेका छन् ।”

समयसँगै गाउँको स्वरूप फेरिएको छ । एक समय बाक्लो बस्ती भएका गाउँहरू अहिले खाली हुँदै गएका छन् । दाउरा र घाँसको आवश्यकता घटेको छ ।

पहिले कम्पोस्ट मल बनाउन वनबाट पात ल्याउने चलन थियो, जसले वन सफा रहन्थ्यो । अहिले त्यो अभ्यास हराउँदै जाँदा वनमा सुक्खा पात थुप्रिने र आगो सल्किन सहज हुने अवस्था बनेको छ ।

डढेलोको असर केवल वन नष्ट हुनुमा सीमित छैन । यसले वातावरणीय सन्तुलन, पानीका स्रोत, वन्यजन्तुको वासस्थान र सामाजिक मूल्यमा समेत गम्भीर प्रभाव पारिरहेको छ ।

निस्दी गाउँपालिका ज्यामिरेका गंगाबहादुर सोती भन्छन्, “वनमा आगो लगाउँदा पानीका मुहान सुक्ने, जनावरको बासस्थान नष्ट हुने र हाम्रो परम्परागत जीवनशैलीमै असर पर्ने कुरा अहिले मात्र बुझ्न थालेका छौँ ।”

डिभिजन वन कार्यालयले विगत एक दशकदेखि डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामुदायिक वन उपभोक्ता समूहदेखि विद्यालय तहसम्म पुगेर जनचेतना फैलाउने प्रयास भइरहेको छ । कार्यालय प्रमुख मोहन श्रेष्ठका अनुसार स्थानीय तहसँग सहकार्य गरेर विपद् न्यूनीकरणका कार्यक्रम अघि बढाइए पनि त्यसको प्रभावकारितामा अझै सुधार आवश्यक छ ।

पूर्वाधारको अभाव पनि डढेलो नियन्त्रणमा चुनौती बनेको छ । सङ्घीय सरकारले स्थानीय तहलाई अनिवार्य रूपमा दमकल खरिद गर्नुपर्ने व्यवस्था गरे पनि पाल्पाका केही नगरपालिकाबाहेक अधिकांश ठाउँमा अझै पर्याप्त साधन छैन । तानसेन, रामपुर र हालै रैनादेवी छहरामा दमकल भए पनि दुर्गम भौगोलिक अवस्थाले गर्दा समयमै आगो नियन्त्रण गर्न कठिन हुने गरेको छ ।

भूगोल आफैँमा अर्को चुनौती हो । पाल्पाका वनहरू तराई क्षेत्रसँग जोडिएका छन् । तराईमा लागेको आगो सजिलै पहाडी क्षेत्रमा फैलिने जोखिम रहन्छ । रैनादेवी, तिनाउ, माथागढी र निस्दीका वनहरू यसबाट बढी प्रभावित हुने गरेका छन् ।

त्यसमाथि सल्लाको घना जङ्गल भएको क्षेत्र भएकाले आगो नियन्त्रण झनै जटिल बन्छ । सल्लाका पात र राल अत्यधिक ज्वलनशील हुने भएकाले एक पटक आगो लागेपछि निभाउन कठिन हुने स्थानीयहरू बताउँछन् ।

तथ्याङ्कले समस्या झनै स्पष्ट पार्छ । आर्थिक वर्ष २०७९/८० मा २ सय १९ स्थानमा लागेको डढेलोबाट १ हजार ६ सय ५० हेक्टर वन प्रभावित भयो । त्यसपछि ०८०/८१ मा १ सय २७ डढेलोबाट ३ हजार ५ सय ८६ हेक्टर क्षेत्र जलेको छ । यस अवधिमा ३७ घर गोठ जले, पशु चौपायाको क्षति भयो र मानिसहरू घाइते भए । गत वर्ष मात्रै ९७ वटा डढेलोबाट १ हजार १ सय ५२ हेक्टर वन प्रभावित हुँदा एक जनाले ज्यान गुमाएका थिए ।

वनमा आगो लगाउने आरोपमा हालसम्म १ सय ६४ जनालाई नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालयले आगो नियन्त्रणका लागि विशेष दस्ता समेत तयार गरेको जनाएको छ ।

यस वर्ष भने क्षति न्यूनीकरणका लागि समुदाय स्तरमा सचेतना कार्यक्रम, अग्नि रेखा निर्माण र विद्यालयमा जनचेतना अभियानलाई तीव्रता दिइएको छ ।

तर यी प्रयासहरू पर्याप्त छन् कि छैनन् भन्ने प्रश्न अझै बाँकी छ । वन जोगाउने जिम्मेवारी केवल सरकारी निकायको मात्र नभई समुदायको पनि हो । जबसम्म मानिसहरूको सोच र व्यवहारमा परिवर्तन आउँदैन, डढेलोको समस्या दोहोरिइरहने देखिन्छ ।

पाल्पाका हरिया वनहरू अहिले आगोको जोखिममा छन् । यदि समयमै प्रभावकारी कदम चालिएन भने यो डढेलोले केवल वन होइन, भविष्य पनि जलाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?