Butwal Today

बेलहियामा लागू औषध नियन्त्रण अभियान गठन, ६५ सदस्यीय समूह सक्रिय

२२ चैत्र २०८२, आइतबार
अ+
अ-

भैरहवा । 

रुपन्देहीको बेलहियामा लागू पदार्थ दुरुपयोग तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले “लागू औषध नियन्त्रण अभियान” समूह गठन गरिएको छ । शनिवार बेलहिया गाउँ समाजको पहलमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष सुमन शर्माको अध्यक्षतामा उक्त समूह गठन गरिएको हो ।

बेलहियामा क्रियाशील विभिन्न सङ्घसंस्था तथा क्लबका अध्यक्षहरूलाई समेटेर ६५ सदस्यीय समूह निर्माण गरिएको छ ।

नवगठित समूहले नेपालका विभिन्न स्थानबाट लागू पदार्थ सेवन तथा खरिद–बिक्रीका लागि भारतीय क्षेत्रतर्फ हुने आवतजावतमा कडाइका साथ निगरानी गर्ने, चेकजाँचलाई प्रभावकारी बनाउने तथा यस्ता गतिविधि नियन्त्रणमा ध्यान केन्द्रित गर्ने लक्ष्य लिएको अध्यक्ष शर्माले बताए । साथै उनले बाहिरी क्षेत्रबाट आएर लागू पदार्थ सेवन गर्दा बेलहियाको छविमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्न पनि समूहले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बेलहिया गाउँ समाजका पूर्व अध्यक्ष तथा “हाम्रो बेलहिया राम्रो बेलहिया” अभियानका संयोजक अर्जुन कुमार गिरी, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष महेश थापा, लागू पदार्थ दुर्व्यसनी सुधार टेवा समूहका सुनिल एन।आर। तथा अभियानका संयोजक संसार विजय गुरुङले नवगठित समूहलाई शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?