© 2026
बुटवल । बुटवलमा अपरेशन साइलेन्ट स्ट्रिट अभियान दोस्रो दिन पनि जारी छ। नेपाल प्रहरी (इलाका प्रहरी कार्यालय बुटवल) र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलको संयुक्त टोलीले सडक सुरक्षा, ट्राफिक नियमको पालना र अस्वभाविक रुपमा मोडीफाइ गरी ध्वनि प्रदुषण गरिएका सवारी साधन नियन्त्रणमा लिने काम भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए।
उनका अनुसार यो अभियान बुटवलका हरेकजसो गल्ली र क्षेत्रमा सञ्चालन हुनेछ। विशेषगरी चर्को आवाज निकाल्ने, स्वरूप परिवर्तन गरिएका तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई लक्षित गर्दै अभियान अघि बढाइएको उनले बताए।
सवारी साधन चलाउँदा सम्पूर्ण ट्राफिक नियम पालना गर्न र अस्वभाविक रुपमा सवारीको स्वरुप परिवर्तन गर्ने, चर्को आवाज निकाल्ने र मादक पदार्थ सेवन गरी सवारी चलाउने काम नगर्न प्रहरीले आग्रह गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानअन्तर्गत शनिबार राति करिब दुई दर्जन मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
प्रहरी नायव उपरीक्षक श्रीवास्तवका अनुसार बजार क्षेत्रमा ध्वनि प्रदूषण र लापरवाहीपूर्ण सवारीका कारण जनजीवन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढ्दै गएपछि यस्तो अभियान सञ्चालन गरिएको हो ।
उनका अनुसार करिब दुई घण्टाको अवधिमा नै ठूलो संख्यामा मोटरसाइकल नियन्त्रणमा लिइएको र सम्बन्धित धनीमाथि कानुनी प्रक्रिया अनुसार कडा कारबाही गरिनेछ ।