© 2026
भैरहवा ।
भैरहवास्थित पक्लिहवा माध्यमिक विद्यालयको आफ्नो ६७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति, तेक्वान्दो प्रदर्शन गरेका थिए भने विद्यालयले छात्रवृत्ति वितरण गरेको छ ।
कार्यक्रममा विद्यालयका प्राचार्य बसन्त बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको जानकारी दिँदै शैक्षिक गुणस्तर अभिवृद्धि र नतिजा सुधारका लागि अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवाला सबै पक्षको सक्रिय र सामूहिक प्रयास आवश्यक रहेकोमा बताए। उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिने उल्लेख गरे ।
यस्तै, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष उज्ज्वल पोखरेलले कार्यक्रममा अभिभावकहरूको उपस्थिति न्यून रहेकोप्रति निराशा व्यक्त गरे। उनले आगामी दिनमा अभिभावकको सक्रिय सहभागिता आवश्यक रहेको बताए । साथै, शिक्षाको नतिजा उत्साहजनक नआएकोप्रति दुःख व्यक्त गर्दै शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे।
विद्यालय वयवस्थापन समितिका अध्यक्ष सुशिल गुरुङले विद्यालयको पूर्वाधार विकासतर्फ स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा करिब ५ करोड ५० लाख रुपैयाँ खर्च भएको बताए । उनले चालू आर्थिक वर्षमा मात्र प्रदेश सरकारबाट थप ८५ लाख रुपैयाँ प्राप्त भएको बताए ।
हालसम्म १६ वटा नयाँ कक्षा कोठा निर्माण गरिएका छन् भने ५ वटा जीर्ण कक्षा कोठाको मर्मतसम्भार गरिएको बताएउदै उनले फुटबल मैदान स्तरोन्नति लगायतका अन्य भौतिक निर्माण कार्यहरू पनि सम्पन्न भएका जानकारी दिए ।
तर, भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगति भए पनि विद्यालयको शैक्षिक गुणस्तर र नतिजामा अपेक्षित सुधार हुन नसकेको पनि गुरुङले स्वीकार गरे । आगामी दिनमा विद्यार्थी संख्या वृद्धि गर्ने र शिक्षण सिकाइको स्तर उकास्नेमा विशेष ध्यान केन्द्रित गरिने उनको भनाइ छ ।
विद्यालयको पहिचान अभिवृद्धि गर्न खेलकुद क्षेत्रमा समेत विशेष जोड दिने निर्णय विद्यालय प्रशासनले गरेको छ । यसअन्तर्गत रुपन्देही जिल्लामै पहिलोपटक सामुदायिक विद्यालयस्तरमा ‘इन्डोर ब्याडमिन्टन कोर्ट’ (कम्तीमा २ वटा) निर्माण गर्ने योजना अघि सारिएको छ। उक्त योजना सफल भएमा विद्यालयलाई ‘इन्डोर स्पोट्र्स एकेडेमी’को रूपमा विकास गर्ने लक्ष्य विद्यालयको छ ।