Butwal Today

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी छः मुख्यमन्त्री आचार्य

२० चैत्र २०८२, शुक्रबार
अ+
अ-

लमही ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन कडाइका साथ नियमन गर्नुपर्ने बताएका छन् । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राप्ती उपत्यका (देउखुरी)मा आयोजना गरेको उत्कृष्ट सहकारी संस्था पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सहकारीप्रति बढ्दो अविश्वास हटाउन पारदर्शिता र उत्तरदायित्व अनिवार्य रहेको बताए ।

‎मुख्यमन्त्री आचार्यले गलत नियतका कारण केही सहकारी संस्थाले सिंगो क्षेत्रको छवि बिगारेको उल्लेख गर्दै त्यस्ता संस्थामाथि कडा निगरानी र कारबाही भइरहेको स्पष्ट पारे । “बाहिरबाट आएर पैसा कुम्ल्याएर जाने प्रवृत्तिले सहकारीप्रति शंका बढाएको छ,” उनले भने, “अब यस्ता गतिविधि सह्य हुँदैनन् ।”

‎उनले सहकारी संस्थाले सर्वसाधारण नागरिकको जीवन सहज बनाएको उल्लेख गर्दै साना–तिना आर्थिक समस्या समाधानमा सहकारी प्रभावकारी माध्यम बनेको बताए । प्रदेश सरकारले ल्याउने बजेट बराबरको पुँजी सहकारीमार्फत परिचालन हुनु प्रदेशको समृद्धिमा महत्वपूर्ण योगदान भएको उनको भनाइ थियो ।

‎कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन प्रोत्साहन र नियमनलाई सँगसँगै अघि बढाइएको जानकारी दिए । प्रमुख सचिव कृष्णप्रसाद काप्रीले असल अभ्यासलाई प्रवर्द्धन गर्दै तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।

‎मन्त्रालयका अनुसार प्रदेश मातहत ८ सय ४८ सहकारी संस्था रहेका छन् । तीमध्ये ३३ सहकारीविरुद्ध उजुरी परेकोमा ८ वटाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ भने ७ वटासँग बचत फिर्ता गराउने सहमति भएको छ । १२ सहकारीलाई थप अनुसन्धानका लागि प्रहरीमा पठाइएको छ ।

‎पाँच सहकारी पुरस्कृत

‎कार्यक्रममा चार विधामा पाँच उत्कृष्ट सहकारी संस्थालाई नगद २५ हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरिएको छ । बचत तथा ऋणतर्फ किसान कमैया कल्याण बचत तथा ऋण सहकारी संस्था (बर्दिया) र राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था (दाङ), बहुउद्देश्यीयतर्फ पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारी (रुपन्देही), उत्पादकतर्फ उत्कृष्ट साना किसान कृषि सहकारी (बाँके) र उपभोक्तातर्फ तुलसी उपभोक्ता सहकारी (दाङ) पुरस्कृत भएका हुन् ।

‎कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेल, प्रदेश सहकारी संघका सचिव रुपबहादुर खत्री, जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुंगाना लगायतले सहकारी क्षेत्र सुधारमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?