© 2026
काठमाडौं । केपी शर्मा ओलीले पार्टीभित्र देखिएको आन्तरिक तनावका बीच नेता–कार्यकर्तालाई पाँच बुँदे सन्देश पठाएका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओली हाल प्रहरी हिरासतमा रही त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा उपचाररत छन्।
पार्टीभित्र आपसी विवाद बढ्न लागेको जानकारी पाएपछि उनले यस्तो सन्देश पठाएको उनका सचिव महेश बस्नेत ले बताएका छन्। बस्नेतले शुक्रबार सामाजिक सञ्जालमार्फत ओलीको सन्देश सार्वजनिक गरेका हुन्।
ओलीले कार्यकर्तालाई दिएका मुख्य सन्देशहरू यसप्रकार छन्
१. सत्य लुकेर बस्दैन
२३ र २४ गतेका घटनाबारे सत्यतथ्य सधैं लुक्न नसक्ने र छिट्टै बाहिर आउने उनले बताएका छन्।
२.एमालेमाथि निरन्तर प्रहार हुँदै आएको दाबी
एमालेमाथि विगतदेखि नै प्रहार हुँदै आएको उल्लेख गर्दै जनताको नाममा केही ‘प्रायोजित समूह’ले भावनात्मक राजनीति गरेको आरोप लगाएका छन्।
३. संघर्ष निरन्तरता दिन आग्रह
समय सधैं एकनासको नहुने भन्दै सत्यसँग नलड्ने र असत्यसँग नझुक्ने प्रतिबद्धतामा अडिग रहन र संघर्ष जारी राख्न कार्यकर्तालाई आग्रह गरेका छन्।
४. घेराबन्दी र षड्यन्त्रको संकेत
राष्ट्रियता र समृद्धिको अभियानका क्रममा आफूविरुद्ध षड्यन्त्र भएको दाबी गर्दै हालको अवस्था ‘अस्थायी घेराबन्दी’को चरम रूप भएको बताएका छन्।
५ .एकताबद्ध हुन आह्वान
पार्टी कार्यकर्तालाई आपसमा विभाजित नहुन, विरोधीको ‘मसाल’ नबन्न र एकताबद्ध भएर सत्य उजागर गर्न लाग्न आग्रह गरेका छन्। ओलीले सन्देशमार्फत पार्टीभित्रको एकता जोगाउन र वर्तमान परिस्थितिलाई संयमतापूर्वक सामना गर्न निर्देशन दिएका छन्।