Butwal Today

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

२० चैत्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल लाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा शुक्रबार उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउपछि अग्रवालसँग बयान लिइएको छ र हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुर को हिरासतमा राखिएको छ।

अग्रवाल नेपालको प्रमुख व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन्। उनले पछिल्लो समय आफ्ना छोराहरू साहिल र सुलभसँगै व्यवसायी दीपक भट्ट सँग साझेदारीमा व्यवसाय विस्तार गर्दै आएका थिए। प्राप्त जानकारी अनुसार, अग्रवाललाई बिहीबार पक्राउ परेका भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो। यसअघि भट्टलाई जिल्ला अदालत काठमाडौं ले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टसहित उनका साझेदारहरूविरुद्ध ५ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा चलाउने तयारी गरेको छ।नयाँ सरकार गठन भएको एक सातामै भट्टपछि अग्रवाल पक्राउ पर्ने दोस्रो ठूला व्यवसायी बनेका छन्।

यसै प्रकरणमा कार्की आयोगको सिफारिसका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक तथा पूर्वऊर्जामन्त्री दीपक खड्का माथि पनि अनुसन्धान जारी रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?