© 2026
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ एफ्क्यानको जारी अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। निर्वाचनमा दुई मुख्य प्यानलबीच कडा प्रतिस्पर्धा देखिएको छ।
वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा र युबा व्यवसायी निकोलस पाण्डे ले आ–आफ्नो समूहसहित उम्मेदवारी दिएका छन्। अनुभवलाई मुख्य आधार बनाएको लामा समूह र युवा नेतृत्व तथा परिवर्तनको नारासहित उत्रिएको पाण्डे समूहबीच प्रतिस्पर्धा रोचक बनेको छ।
लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठ उम्मेदवार छन्। लामाले सार्वजनिक खरिद ऐन संशोधनलाई मुख्य एजेन्डा बनाएका छन् भने घिमिरेको अघिल्लो कार्यानुभवले टोलीलाई थप बलियो बनाएको दाबी गरिएको छ।
यता पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतम उम्मेदवार बनेका छन्। पाण्डेले निर्माण क्षेत्रका समस्याहरू समाधान गर्ने र व्यवसायी प्रतिकूल सार्वजनिक खरिद ऐनका प्रावधान खारेज गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
महासंघको नेतृत्वका लागि अनुभवी र युवा पुस्ताबीच प्रतिस्पर्धा देखिएको छ। लामो अनुभवका कारण लामालाई बलियो उम्मेदवार मानिएको छ भने पाण्डेलाई युवा व्यवसायीहरूको साथ रहने अपेक्षा गरिएको छ।यसैबीच, नीतिगत स्पष्टता र व्यवसायीका समस्या समाधानको एजेन्डासहित प्रमोद लामिछाने ले स्वतन्त्र उम्मेदवारी दिएका छन्। निर्माण क्षेत्रमा २८ वर्षको अनुभव सँगालेका उनले नीतिगत सुधारमा आफ्नो विज्ञता उपयोग गर्ने बताएका छन्।
महासंघका विभिन्न पदहरूमा पनि प्रतिस्पर्धा चर्किएको छ। महासचिव, उपमहासचिव, कोषाध्यक्ष तथा सह–कोषाध्यक्ष लगायत पदमा अनुभवी र युवा उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचन परिणामले आगामी कार्यकालका लागि महासंघको नीति, दिशा र निर्माण क्षेत्र सुधारका कार्यक्रमहरू निर्धारण गर्नेछ।