Butwal Today

सुपा देउराली बाटो स्तरोन्नति

१९ चैत्र २०८२, बिहीबार
अ+
अ-

अर्घाखाँची  । गोरुसिङ्गे सन्धिखर्क सडक अन्तर्गत सुपा देउरालीमा जीर्ण सडक ढलानको काम सुरु भएको छ ।

जीर्ण सडक ढलान हुने भएपछि यस सडकमा यात्रा गर्ने यात्रु र सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकहरू लाभान्वित हुनेछन् । सुपा देउराली मन्दिरमा पुगेका जो कहिले चट्टानी भीरमा रहेको साँघुरो डरलाग्दो सडक सम्झन्थे ।

त्यही चट्टानी डर लाग्दो भीरमा रहेको जीर्ण सडक सम्झन्थे । सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई सहजता तथा यात्रुलाई सहजताको लागि सुपा देउराली आसपासको क्षेत्रमा ढलान गरिने सडक डिभिजन कार्यालय शिवपुरका प्रमुख ईन्जिनियर सविन कोइरालाले बताएका छन् ।

गोरुसिङ्गे सन्धिखर्क सडकको सुपा देउराली खण्डमा आरसिसी ढलान गरे सडक बिस्तार गर्न थालिएको हो । जिल्ला सदरमुकाम जोड्ने जिल्लाको पुरानो र महत्त्वपूर्ण गोरु सीङे सन्धिखर्क सडकको लाहुरे बजारदेखि सुपा मन्दिरसम्म सडक जीर्ण हुँदा यातायात आवागमनमा निकै कठिनाइ व्योहोर्नु परेको अवस्था रहेको थियो ।

लाहुरे बजारदेखि सुपा मन्दिरसम्मको करिब ८ सय मिटर लम्बाइ र करिब ९ मिटर चौडाइको काम गर्न थालिएको इन्जिनियर कोइरालाको भनाइ छ । जसका कारण यातायात आवागमनमा सजिलो हुनेछ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाको दोसाधमा रहेको नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । सुपा देउराली नजिकै मनोरम दृश्यले भरिपूर्ण नरपानीको डाँडाले पनि यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा विश्वास लिइएको छ ।

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बिच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ। यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा ठुलो ओहोदामा पुगेका व्यक्ति समेतले दर्शन गर्छन्। कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ। त्यसैले यहाँ पाठी, बोका, भाकल गरि बलि चढाइने परम्परा रहेको सन्धिखर्क ७ का वडा अध्यक्ष चुरा बहादुर केसीले बताएका छन् ।

मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, विहारबाट समेत धार्मिक पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरेका छन् ।

गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्क सम्म सडकको लम्बाइ दुरी ६८ किलो मिटर र चौडाइ केही ठाउँमा ७ मिटर र केही स्थानमा ५ मिटर रहेको छ । तर सुपा देउराली मन्दिर क्षेत्रमा सडक साँघुरो र जीर्ण थियो । अन्य स्थानमा सडक कालोपत्रे रहेको सडक डिभिजन शिवपुरका डिभिजन प्रमुख ईन्जिनीयर कोइरालाको भनाई छ ।

सुपा देउरालीमा आएका धार्मिक पर्यटकलाई खाँचीकोट हुँदै, एसियाकै सबैभन्दा ठुलो भगवती देवीको मूर्ति रहेको अर्घा भगवती मन्दिर र अर्घा दरबार क्षेत्रमा लैजाने कार्य योजना नगरपालिकाले बनाएर काम अगाडी बढाएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।

उनले सुपा देउरालीमा आएका भक्तजनको लागि लक्षित गरेर भौतिक संरचना निर्माणका कार्यहरू पनि भइरहेको जानकारी दिए ।

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बिच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा ठुलो ओदामा पुगेका व्यक्ति समेतले दर्शन गर्छन् ।

कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । त्यसैले यहाँ पाठी, बोका, भाकल गरि वली चढाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?