Butwal Today

एसइई सफलताको शुभकामना 

१९ चैत्र २०८२, बिहीबार
अ+
अ-

आज बिहीबारदेखि सुरु हुने २०८२ सालको एसइई परीक्षामा देशभरबाट कूल ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थीले आफ्नो भविष्यको रेखा कोर्दै छन् ।

यो वर्ष परीक्षा सकिएको ३ दिनभित्रै विद्यार्थीका उत्तर पुस्तिका परीक्षण गर्ने तयारी सरकारको छ भने एक महिनाभित्रै नतिजा घोषणा गर्ने बताइएको छ । यसले विद्यार्थीहरूलाई उत्साहित बनाएको हुनुपर्छ ।

किनभने परीक्षा दिएको लामो समयसम्म विद्यार्थीहरू मनोवैज्ञानिक त्रासमा बस्नुपर्ने अवस्था थियो । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा सकिएको ३ दिनभित्रै परीक्षण र एक महिनाभित्र रिजल्ट निकाल्ने गरी कार्य तालिका नै बनाएर सर्कुलर गर्ने तयारी गरेको छ । फलामे ढोका मानिने एसइई परीक्षा विद्यार्थीका लागि नयाँ अवसर सिर्जना गर्ने प्रमुख माध्यम हो । एसइई परीक्षापछि विद्यार्थीहरूको भविष्य र रोजाई एकसाथ सुरु हुन्छ ।

अर्थात् उनीहरूको पढाई को क्षमता, स्तर अनि नतिजा अनुसार आ–आफ्नो शैक्षिक क्षेत्रमा जाने अवसर पाउँछन् । त्यही भएर पनि एसइईलाई फलामे ढोका अथवा नयाँ शैक्षिक अवसर सिर्जना गर्ने माध्यम भनिएको हो ।

वि.सं १९९० मा पहिलो पटक सञ्चालन भएको एसएलसी मुलुक सङ्घीयतामा रूपान्तरण भएपछि केही वर्ष अघिदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को नाममा सञ्चालन भइरहेको छ ।

परीक्षालाई समयानुकूल अनुशासित, मर्यादित तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने दिशामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्डले आफ्नो तर्फबाट गरी आएको भूमिका तथा व्यवस्थापनका सवालमा अन्य सरोकारवाला निकायको सहकार्यसमेत अपरिहार्य छ ।

विशेषतः परीक्षाका सामान्य मूल्य मान्यतालाई कायम राख्ने, परीक्षार्थीमैत्री तथा भयरहित वातावरणमा परीक्षा सञ्चालन तथा व्यवस्थापनमा तल्लो तहमा केन्द्राध्यक्ष र निरीक्षकदेखि उपल्लो तहका निकाय र पदाधिकारीको समन्वयात्मक सहकार्य न्यूनतम आधार रहन्छ ।

सामान्यतः दुर्गम तथा पहाडी क्षेत्रका केही ठाउँ तथा तराई क्षेत्रमा परीक्षाको न्यूनतम मर्यादा र मूल्यलाई कायम गर्ने दिशामा विगतका अनुभवलाई मनन गर्दै थप मर्यादित र अनुशासित बनाउने कार्यमा शिक्षा मन्त्रालयको पहल आवश्यक छ । धेरै पछि हाम्रो शिक्षा प्रणालीमा सुधार भएको छ । अहिले विद्यालय शिक्षाले १२ कक्षाको परीक्षालाई विद्यालय तहको शिक्षाको अन्तिम परीक्षाको रूपमा ग्रहण गरेको छ ।

त्यस अर्थमा भन्ने हो भने १० कक्षा उत्तीर्ण परीक्षाको रूपमा एसइई नै हो र त्यसै अनुसार अघि बढ्नु जरुरी छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने १२ कक्षाको परीक्षा विद्यालय तहको अन्तिम परीक्षा हो र तत्पश्चात उच्च शिक्षाको प्रारम्भबिन्दु सुरु हुन्छ । अधिकांश मुलुकका शैक्षिक प्रणालीको अभ्यास पनि यही हो ।

नेपालले पनि यही शैक्षिक अभ्यासलाई अँगाल्नु जरुरी छ । परीक्षाको सम्पूर्ण तयारी पूरा भैसकेको अवस्था छ । विद्यार्थीहरूले उच्च मनोबलका साथ परिक्षामा सहभागी भएर आफ्नो भविष्यको गोरेटो कोर्नेछन भन्ने विश्वास गरिएको छ । परीक्षालाई अनुशासित, मर्यादित तथा मूल्यनिष्ठ रूपमा यसको गरिमा र साखलाई कायम गर्ने दिशामा सम्बन्धित सबैको सहकार्य र समन्वयात्मक भूमिका अपरिहार्य छ ।

अहिले नयाँ सरकार बनेको अवस्था छ । नयाँ सरकारले शैक्षिक क्षेत्रलाई व्यवस्थित बनाउने कार्ययोजना तयार गरिसकेको छ । एसइई परीक्षाको कापी सम्वन्धित परीक्षा केन्द्रमा जाँच्ने व्यवस्था मिलाउन लागिएको छ । यसले सम्वन्धित केन्द्रलाई बढी जिम्मेवारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

साथै परीक्षाफल लामो समय प्रकाशित नहुँदा तनावमा रहने परीक्षार्थीहरूलाई यो व्यवस्थाले ठूलो राहत दिनेछ । अव सरकारको अभियानलाई साथ दिन सम्वन्धित बिद्यालय र शिक्षकहरूले पनि एसइईलाई मर्यादित बनाउने दिशामा योगदान दिनुपर्ने खाँचो छ । परीक्षार्थीहरूले एसइईलाई हाउगुजीका रूपमा रूपमा लिने जुन मानसिकता छ, त्यसमा परिवर्तन हुने अपेक्षा गरिएको छ ।

मेहनत र परिश्रमका साथ परिक्षा दिएर अधिकतम सफलता पाउने दिशामा आफूलाई क्रियाशील वनाउन परीक्षार्थीहरूलाई अग्रीम शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?