© 2026
काठमाडौं । नेपाल प्रहरीमा सुधार र आधुनिकीकरणको संकेत दिँदै गृहमन्त्री सुदन गुरुडले पाँच महत्वपूर्ण प्रतिबद्धता जनाएका छन्। प्रहरी संगठनलाई थप सक्षम, सुरक्षित र पेशागत बनाउने उद्देश्यसहित यी घोषणाहरू अघि सारिएका हुन्।
मुख्य प्रतिबद्धताहरू
१. स्वदेशमै प्रहरी पोशाक उत्पादन
ग्रामीण क्षेत्रमा उद्योग स्थापना गरी प्रहरीको पोशाक नेपालमै उत्पादन गरिने योजना अघि सारिएको छ। यसले जनतामा रोजगारी सिर्जना गर्नुका साथै आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ।
२.गृहमन्त्रीलाई प्रधानमन्त्रीद्वारा फुली
अब नेपाल सरकारका सचिवमार्फत होइन, स्वयं प्रधानमन्त्रीले प्रहरी महानिरीक्षकलाई फुली लगाइदिने व्यवस्था गरिने बताइएको छ। यसलाई सम्मान र प्रतिष्ठासँग जोडिएको कदमका रूपमा हेरिएको छ।
३. समस्यामा सिधै मन्त्रीसम्म पहुँच
प्रहरी कर्मचारीलाई कामका क्रममा समस्या परे सिधै गृहमन्त्रीसम्म जानकारी गराउन निर्देशन दिइनेछ। यसले निर्णय प्रक्रिया छिटो र प्रभावकारी हुने विश्वास गरिएको छ।
४.सुरक्षा सामग्री बिना दंगामा नखटाइने
दंगा नियन्त्रणजस्ता जोखिमपूर्ण कार्यमा खटाउँदा अनिवार्य रूपमा सुरक्षात्मक गियर उपलब्ध गराइनेछ। पर्याप्त सुरक्षा सामग्री बिना प्रहरीलाई खटाइने अभ्यास अन्त्य गरिनेछ।
५. ड्युटीमा आधारभूत सुविधा सुनिश्चित
ड्युटीका क्रममा ‘चिउरा र चाउचाउ’ जस्ता न्यूनतम व्यवस्थामै भर पर्नुपर्ने बाध्यता अन्त्य गरी प्रहरीका लागि उचित खाना र आधारभूत सुविधा सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
यी प्रतिबद्धताहरू कार्यान्वयन भएमा प्रहरी संगठनको कार्यक्षमता, मनोबल र पेशागत वातावरणमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ। साथै, यसलाई नेपाल प्रहरी भित्र सुधारको नयाँ सुरुवातका रूपमा हेरिएको छ।