© 2026
दाङ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको उच्च अदालत तुलसीपुरको इजलास कक्ष भवन आज हस्तान्तरण गरिएको छ । नगरप्रमुख टिकाराम खड्काले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीलाई भवन हस्तान्तरण गरिएको हो ।
नगरप्रमुख खड्काले नगरपालिकाको भवन पूर्ण रूपमा ध्वस्त भएपछि आफूहरुले पाल टाँगेर सेवा प्रवाह गरेको र अदालतको अवस्था पनि त्यस्तै भएकाले नागरिकलाई सेवा प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले अदालत परिसरमा रु १५ लाखको लागतमा भवन निर्माण गरिएको बताए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा अदालतको भवन पूर्ण रूपमा क्षतिग्रस्तपछि गाडी राख्ने ग्यारेजमा अस्थायी टहरा निर्माण गरी सेवा प्रदान भइरहेको छ ।
त्यस अवसरमा मुख्य न्यायाधीश राजेश्वर तिवारीले अदालतका संरचना पूर्ण रूपमा जलेर ध्वस्त भए पनि सेवा प्रवाह नरोकिएको बताए। सङ्कटको कठिन समयमा उपमहानगरपालिकाले गरेको सहयोगप्रति उहाँले धन्यवाद ज्ञापन गरे । आज नै उपमहानगरपालिकाले सोही अदालतलाई रु छ लाख मूल्य बराबरका फर्निचर सामग्री पनि सहयोग गरेको छ ।