Butwal Today

अटिजम बालबालिकाप्रति समावेशी दृष्टिकोण अवश्यक

१९ चैत्र २०८२, बिहीबार
अ+
अ-

भैरहवा । १९ औँ विश्व अटिजम दिवसको अवसरमा अटिजम भएका बालबालिकाप्रति भेदभाव अन्त्य र समावेशी दृष्टिकोण विकास गर्ने उद्देश्यले भैरहवामा जनचेतनामूलक कार्यक्रम गरिएको छ। बुधबार हेभेन्ली गार्डेन किड्स क्याम्पसको प्रस्तुति तथा सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अटिजम भएका बालबालिकाको अवस्था, उनीहरूले भोग्ने समस्या तथा समाजको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।

संघका अध्यक्ष नेत्र आचार्यले अटिजम भएका बालबालिका र तिनका अभिभावकले भोग्नुपरेका समस्यालाई समाजले संवेदनशीलताका साथ बुझ्नुपर्नेमा जोड दिए। “विद्यालय र समाज दुवै ठाउँमा अझै पनि भेदभाव र दबाबको अवस्था छ। मानवताको नाताले उनीहरूको पीडा बुझ्दै समावेशी वातावरण निर्माण गर्न आवश्यक छ,” उनले बताए।

कार्यक्रम संयोजक रचना क्षेत्रीले अटिजमबारे समाजमा अझै पर्याप्त जानकारीको अभाव रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले अभिभावक र समुदायलाई वास्तविकता बुझ्न सहयोग पुग्ने बताइन्। “अटिजम कुनै सरुवा वा साधारण रोग होइन, यो विकाससम्बन्धी अवस्था हो। समयमै पहिचान र उचित सहयोग पाए बालबालिकाको जीवन सहज बनाउन सकिन्छ,” उनले भनिन्। कार्यक्रममा अटिजमसम्बन्धी जानकार तथा थेरापिष्ट समिद कातिला श्रेष्ठले विश्व अटिजम सचेतना दिवसको नारा “अटिजम र ह्युमानिटी ९मानवता र अटिजम” रहेको उल्लेख गर्दै अटिजम भएका व्यक्तिलाई सहानुभूति मात्र होइन, समान अवसर प्रदान गर्नुपर्ने धारणा राखिन्।

कार्यक्रममा प्रस्तुत जानकारीअनुसार अटिजमलाई नेपाल सरकारले अपाङ्गताको सूचीमा समावेश गरिसकेको छ। हाल सरकारले शारीरिक, दृष्टि, श्रवण, बौद्धिक, मानसिक, अटिजम लगायत विभिन्न प्रकारका अपाङ्गता पहिचान गरेको छ। अपाङ्गता भएका व्यक्तिलाई रातो, निलो, पहेँलो र सेतो गरी चार प्रकारका परिचयपत्र प्रदान गरिन्छ, जसमा पूर्ण रूपमा अरूको सहारा चाहिने व्यक्तिलाई रातो कार्ड दिइने व्यवस्था रहेको छ।

अटिजमलाई कुनै पनि क्लिनिकल परीक्षण—जस्तै एमआरआई, सिटी स्क्यान वा रगत परीक्षण—बाट पहिचान गर्न नसकिने बताइएको छ। यसको पहिचान बालबालिकाको व्यवहार, सञ्चार शैली र सामाजिक अन्तरक्रियाको आधारमा गरिन्छ। अटिजम भएका बालबालिकामा सामाजिक घुलमिलमा कठिनाइ, सञ्चार क्षमतामा कमी, भावनात्मक असन्तुलन तथा दोहोरिने व्यवहारजस्ता लक्षण देखिने जनाइएको छ।

विशेषज्ञका अनुसार अटिजम बालबालिकाको मस्तिष्क विकाससँग सम्बन्धित एक अवस्था हो, जसले उनीहरूको सामाजिक व्यवहार, सञ्चार क्षमता र दैनिक क्रियाकलापमा असर पार्छ। यो जीवनभर रहने विकासात्मक अवस्था भए पनि सानै उमेर—करिब १८ महिनादेखि ३–४ वर्षभित्र—पहिचान गर्न सके आवश्यक सहयोगमार्फत बालबालिकाको विकासलाई सहज बनाउन सकिन्छ।

उनीहरू प्रायः अरूसँग घुलमिल हुन गाह्रो मान्ने, आँखामा आँखा जुधाएर कुरा नगर्ने, आफ्ना भावना व्यक्त गर्न नसक्ने तथा अरूको भावना बुझ्न कठिन हुने जस्ता लक्षण देखिन्छन्। यस्ता बालबालिकाले एउटै कुरा बारम्बार दोहोर्याउने तर प्रभावकारी संवाद गर्न नसक्ने, एक्लै खेल्न रुचाउने र आफ्नो आवश्यकता व्यक्त गर्न नसक्दा असामान्य व्यवहार देखाउने प्रवृती पनि देखिने गर्दछ।

कार्यक्रममा सहभागीहरूले अटिजम भएका बालबालिकालाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन गर्दै भेदभावरहित र समावेशी वातावरण निर्माण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?