Butwal Today

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

१८ चैत्र २०८२, बुधबार
अ+
अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ ।

मन्त्री प्रतिभा रावलको निर्देशनमा आज सचिवस्तरीय निर्णयबाट देशभरका नापी तथा मालपोत कार्यालयमा परिचय खुल्ने कागजात हेरेर मात्रै प्रवेश गराउन सम्बन्धित विभागले पत्राचार गरेको हो । कार्यालयहरूमा विभिन्न बहानामा अनधिकृत व्यक्ति प्रवेश गरी कार्यालयका महत्त्वपूर्ण कागजात र स्रेस्तामा पहुँच राख्ने गुनासो आएकाले अब परिचय खुल्ने कागजात भएका व्यक्ति मात्रै कार्यालयमा प्रवेश गराउन भनिएको छ । मन्त्रालयले कार्यालयका गोप्य र संवेदनशील कागजातमा अनधिकृत व्यक्तिको अनियन्त्रित पहुँच बढेको भन्दै यस्तो कदम चालेको जनाएको छ ।

निर्देशनमा कार्यालयका विभिन्न फाँटमा हुने भीडभाड र कागजातको सुरक्षामा गम्भीर प्रश्न उठाउँदै अनधिकृत व्यक्ति प्रवेशमा रोक नलगाएको खण्डमा कार्यालय प्रमुख जिम्मेवार हुने बताएको छ । अनधिकृत व्यक्तिलाई निषेध गरेपछि सेवाग्राहीले निवेदन र कागजात देखाएर सहजै सेवा पाउने विश्वास मन्त्रालयको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?