Butwal Today

बिहीबारदेखि एसइई सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी लुम्बिनीबाट ९१ हजार बढि

१८ चैत्र २०८२, बुधबार
अ+
अ-

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि देशभर सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले सबै तयारी पूरा भएको जनाएको छ। कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका १ हजार ९ सय ६६ परीक्षा केन्द्र र जापानको एक केन्द्रसहित बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ। “सबै तयारी पूरा भइसकेको छ, परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन हुनेमा हामी विश्वस्त छौँ,” अधिकारीले बताए।

यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी रहेका छन्। परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०७ छात्र र अन्य सात जना छन्।

एसइई प्रदेशगत रूपमा हेर्दा

कोशी – ८२,४८७
मधेस – ९०,२४३
बागमती – १,०९,५१३
गण्डक – ४३,९७२
लुम्बिनी  – ९१,८०२
कर्णाली  – ३९,७६९
सुदूरपश्चिम  – ५४,६३५

परीक्षा तालिका अनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। त्यसपछि क्रमशः नेपाली, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन र ऐच्छिक विषयहरू सञ्चालन हुनेछन्। यस वर्ष परीक्षा व्यवस्थापनमा केही नयाँ व्यवस्था गरिएको छ। परीक्षा केन्द्रमा अनावश्यक भीड नियन्त्रण गर्न सामूहिक अनुगमनमा रोक लगाइएको छ। अब परीक्षा हलभित्र केन्द्राध्यक्ष र खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न पाउनेछन्। सञ्चारमाध्यमलाई बाहिरी दृश्य मात्र कैद गर्न अनुमति दिइएको छ।

सुरक्षाका लागि प्रत्येक केन्द्रमा औसत १५ जना प्रहरी खटाइनेछन्। साथै, अपाङ्गता भएका विद्यार्थीका लागि अतिरिक्त समय १ घण्टा ३० मिनेट र लेखन सहयोगीको व्यवस्था गरिएको छ। बालसुधार गृहमा रहेका विद्यार्थीलाई नजिकैको केन्द्रबाट परीक्षा दिने सुविधा मिलाइएको छ। प्रश्नपत्र व्यवस्थापन अन्तर्गत सातै प्रदेशका लागि फरक प्रश्नपत्र छापिएको छ। यदि कुनै प्रदेशमा प्रश्नपत्र बाहिरिएको पाइएमा सो प्रदेशको मात्र परीक्षा रद्द गरी पुनः सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

नतिजा एक महिनाभित्र प्रकाशन गर्ने तयारी

प्रधानमन्त्री बालेन्द्र शाहले छिटो परीक्षाफल प्रकाशित गर्न बोर्डलाई निर्देशन दिएपछि बोर्डले एक महिनामै नतिजा सार्वजनिक गर्ने भएको छ । यसअघि बोर्डले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तालिका बुझाएको थियो । परीक्षा नियन्त्रक अधिकारीले विगतका वर्षहरूमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने र यसवर्ष एक महिनाभित्रै परीक्षाफल सार्वजनिक गर्ने गरि तयारी गरिएको जानकारी दिए ।

यसवर्ष परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच परीक्षा भएको विषयको सोही दिन परीक्षा केन्द्रमा परीक्षक र संपरीक्षकहरूले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धाङ्कपत्र शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइले तोकिएको समयमा लब्धाङ्कपत्रहरू परीक्षा नियन्त्रण कार्यालय पठाउने व्यवस्था गरिएको छ ।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार बालसुधार गृहका परीक्षार्थीलाई नजिकैको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरिएको छ । विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीका हकमा अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ । तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकालाई थप एक घण्टा ३० मिनेट समय दिइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?