Butwal Today

“जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ शान्ति हुन्छ” आईजीपी कार्की

१८ चैत्र २०८२, बुधबार
अ+
अ-

नागरिकमैत्री प्रहरी सेवा र बिचौलिया अन्त्यमा कडाइ गर्न आईजीपी कार्कीको निर्देशन

बुटवल । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीलाई संविधान र प्रचलित कानुनप्रति अझै प्रतिबद्ध, उत्तरदायी र नागरिकमैत्री बनाउँदै सार्वजनिक सुरक्षा सुदृढ गर्न निर्देशन दिएका छन्। उनले नागरिकसँग सौहार्दपूर्ण व्यवहार गर्दै सक्रिय रूपमा सेवा प्रवाह गर्न र सेवाग्राहीलाई सहज पहुँच दिलाउन विशेष जोड दिएका छन।

इलाका प्रहरी कार्यालय बुटवलमा नव(निर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन गर्दै आईजीपी कार्कीले प्रहरी कार्यालयहरूमा बिचौलियाको प्रवेश पूर्ण रूपमा रोक्न कडाइ गर्न निर्देशन दिए। सेवाग्राहीको नाममा निवेदनको बहानामा कार्यालय वरिपरि सक्रिय बिचौलियालाई तत्काल नियन्त्रण गरी आवश्यक कानुनी कारबाही गर्न उनले सम्बन्धित निकायलाई सचेत गराए। उनले जनताका निवेदनहरू प्रहरी आफैंले सहजीकरण गर्नुपर्नेमा जोड दिँदै सेवा, सुरक्षा र न्याय उपलब्ध गराउनु प्रहरीको मुख्य कर्तव्य भएको बताए। “दत्तचित्त भएर काम गर्दै नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा दिनुपर्छ,” उनले भने।

आईजीपी कार्कीले कानुनको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा दण्डहीनताको अन्त्य गर्नुपर्ने आवश्यकता बताउदैँ यसमा नागरिकको सहयोग पनि अपरिहार्य रहेको उल्लेख गरे। साथै, पुरानो कार्यशैली त्यागेर प्रहरीको बोली, वचन, व्यवहार र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने उनको भनाइ थियो। “नागरिकका समस्या समयमा सुनेर समयमै सम्बोधन गर्नु प्रहरीको दायित्व हो,” उनले जोड दिए।

प्रविधिमैत्री शहर निर्माणको आवश्यकता बताउँदै कार्कीले सडक मानविय चेतना र शहरी संरचना प्रविधिसँग जोडिएपछि मात्रै अपराध नियन्त्रण प्रभावकारी बन्ने बताए। स्रोत–साधनको अभाव हुँदाहुँदै पनि प्रहरी संगठन २४ सै घण्टा जनताको सेवामा खटिएको स्मरण गर्दै उनले आधुनिक युगमा प्रविधि र स्रोतको उचित प्रयोग आवश्यक रहेको धारणा व्यक्त गरे। उनले मुस्कान सहितको सेवा प्रवाह, परिणाममुखी कार्यशैली र सकारात्मक परिवर्तनमा जोड दिँदै सम्पूर्ण प्रहरी संगठनलाई सेवामुखी बन्न आग्रह गरे। कार्यक्रममा नेपाल प्रहरी,शस्त्र प्रहरी,नेपाली सेनाका लुम्बिनी प्रदेश प्रमुखहरु लगायत रुपन्देहिका सबै स्थानिय तहका जनप्रतिनिधिहरु र नागरिक समाजको उपस्थिती रहेको थियो ।

नबनिर्मीत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन २७८.२५ वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको छ । करिब २ करोड ४१ लाख ४३ हजार ७ सय ५३ रुपैयाँ लागतमा तयार भएको उक्त भवन रोयल कन्स्ट्रक्सन, धनगढी कैलालीले निर्माण गरेको हो। भवनको भुईँतलामा ७ वटा कक्ष रहेका छन् भने पहिलो तलामा प्रमुख आवास, भान्सा, ब्यारेक र दुई शौचालयको व्यवस्था गरिएको छ। साथै, भवन अपाङ्गमैत्री रूपमा निर्माण गरिएको छ।

आईजीपी कार्कीले “जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ शान्ति हुन्छ” भन्ने सन्देश दिँदै यस्तो सेवा केन्द्रले महिला तथा कमजोर वर्गको न्यायमा पहुँच अझ सहज बनाउने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?