Butwal Today

अन्तर्राष्ट्रिय उडानमा अब ध्यान जाओस् 

१८ चैत्र २०८२, बुधबार
अ+
अ-

भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुँदै गर्दा यस क्षेत्रका पर्यटन व्यवसायीले अव लुम्बिनी प्रदेशको विकासले काँचुली फेर्ने विश्वास गरेका थिए ।

उद्घाटन भएको तीन वर्ष हुँदै गर्दा यो विमानस्थलले निराश बनाएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलाउने कुरामा सबैतिरबाट कन्जुस्याइँ भएको छ ।

लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले यो विमानस्थल चलाउन धेरै दबाब दिए । सरकारलाई दबाब दिएर मात्रै पुगेन, अन्तर्राष्ट्रिय सङ्घ संस्था पनि गुहारे । तर अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सधैँ अवरोध हुँदै आएको छ ।

अब मुलुकमा पुरानो सरकार फेरिएको छ । बालेन नेतृत्वमा नयाँ सरकार बनेको छ ।

अव नयाँ सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई कछुवा गतिबाट रकेट गतिमा चलाउने काम गरोस् । वायुसेवा कम्पनीहरूले यात्रु पाइरहेको अवस्थामा पनि उडान रोक्दै आएका छन्, जुन अत्यन्त दुःखद छ ।

थाई एयरले समेत चैत अन्त्यबाट अन्तर्राष्ट्रिय उडान बन्द गर्दै छ । यो वर्ष अव कुनै पनि अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सुरु नगर्ने बताएका छन् । त्यसो हो भने के यो विमानस्थल अव कार्गो विमानस्थलमा परिणत हुने त होइन ?

चिन्ता उत्पन्न भएको छ । यसअघिको सरकारले अन्तर्राष्ट्रिय उडानमा दबाब नदिएकोमा लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी आक्रोशित भएका थिए । अव नयाँ सरकार बनेको छ । अव यो विमानस्थल चलाउनुपर्छ । यसमा नयाँ सरकारको ध्यान जानेछ भन्ने विश्वास गरिएको छ ।

विदेशी एयरलाइन्स कम्पनीहरूले उडानलाई निरन्तरता नदिँदा लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीमा निराशा उत्पन्न भएको छ । अर्बौँ लगानीका होटल व्यवसाय डुब्ने अवस्था आएको छ ।

अर्कोतर्फ लुम्बिनी क्षेत्रको पर्यटन व्यवसाय खस्किेन अवस्था आएको छ । त्यसैपनि अहिले मध्यपूर्व द्वन्द्वको असरका कारण लुम्बिनी क्षेत्रमा पर्यटक आगमन कमी भएको छ ।

त्यसमाथि भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडान निष्कृय हुनु चिन्ताको कुरा हो । अन्तर्राष्ट्रिय उडानले चहलपहल आउँदै गर्दा भैरहवा क्षेत्रबाट हुने अन्तर्राष्ट्रिय उडान रोकिनु यो क्षेत्रका लागि ठूलो चुनौति हो ।

नेपाल पर्यटन बोर्डले समेत पर्यटक आगमन संख्यामा वृद्धि गरी नेपाल बसाइको अवधि लम्ब्याउने कार्यक्रम सञ्चालन गर्दै आएको अवस्थामा अन्तर्राष्ट्रिय उडानमा बाधा पर्नु चिन्ताको कुरा हो ।

अर्बौँ लगानी गरेर बनेको यो विमानस्थललाई डुबाउने काम भएको छ । यो बिषयमा यस क्षेत्रका पर्यटन व्यवसायीले एकपटक गंभीर भएर सोच्नु जरुरी छ । भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको नियमितताका लागि तत्काल पहल थाल्नु जरुरी छ । यसका लागि संघीय सरकारलाई दबाब दिने काममा ढिलाई गरिनुहुँदैन ।

नेपालको विकास पर्यटन क्षेत्रबाट संभव छ । विदेश मुद्रा आर्जनको भरपर्दो माध्यम पर्यटन हो तर पर्यटन क्षेत्रलाई नै धरासायी बनाउने काम रोकिनुपर्दछ । यसमा बालेन नेतृत्वको नयाँ सरकारको ध्यान जाओस् ।

विगतमा जे जे भए, ती नराम्रो काम अन्त्य गरेर नयाँ सुरुवात गरिनुपर्दछ । अव नयाँ सरकारले पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने हो भने सम्मृद्धिको संभावनालाई नकार्न सकिदैन । नेपालको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १५ प्रतिशत माथि छ । तसर्थ अव नेपालको पर्यटन क्षेत्रको ढोका खोल्ने काम होस् ।

त्यसका लागि सवैभन्दा पहिले सरकारले भैरहवास्थित अन्त्र्राष्ट्रिय गौतम बुद्ध विमानस्थललाई पूर्ण क्षमतामा संचालन गरोस् । पर्यटन क्षेत्रमा स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गर्नेतर्फ सरकारको ध्यान जाओस् । खासगरि लुम्बिनी, भैरहवा र बुटवल क्षेत्रका पर्यटन व्यवसायीलाई प्रवद्र्धनको खाँचो छ ।

पर्यटकीय पूर्वाधारको विकासमार्फत नै पर्यटन क्षेत्र फस्टाउन सक्छ । सरकारले पहल गरेमा त्यो संभव छ भन्ने कुरा विगतका उदाहरण काफी छन् । अतः सवैभन्दा पहिला भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सेवा सुचारु होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?