© 2026
हरेक गृहमन्त्रीले पद बहालीको बेला निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गरि कारबाही गर्ने प्रतिबद्धता जनाउँछन् ।
यस पटक पनि त्यही भएको छ । गृहमन्त्री सुधन गुरुङले पनि त्यही प्रतिबद्धता दोहो¥याएका छन् । तर, निर्मला पन्तको परिवारले भने धेरैपटक आश्वासन मात्रै पाएकोले अहिलेपनि छोरीले न्याय पाउलिन भन्ने कमै विश्वास गरेको छ ।
धेरै भयो निर्मला पन्तलाई देखाएर गृहमन्त्रीहरू चर्चामा आउने गरेका छन । निर्मला पन्तको परिवारले भने अहिलेसम्म न्यायको अनुभूति गर्न पाएको छैन । हरेकपटक सरकार फेरिँदा गृहमन्त्रीले निर्मला पन्तलाई देखाउने गरेका छन् । उनको हत्यामा संलग्न भएकाहरू भने निर्वाध घुमिरहेका छन् ।
यद्यपि गृहमन्त्रीको यो प्रतिवद्धताले मुलुकमा शान्ति सुरक्षाको प्रभावकारीतासंगै आम नागरिकले न्यायको अनुभूति गर्ने केही आशा र विश्वास पलाएको छ । यद्यपि निर्मला पन्त आज यो संसारमा छैनन तर उनको आत्माको शान्तिका लागि पनि हत्यामा संलग्न दोषी उम्किन पाउनु हुँदैन ।
निर्मलाको परिवारले आफ्नी छोरीको हत्यारा पत्ता लगाउन अहिलेसम्मपनि विभिन्न दवावमूलक आन्दोलन गरिरहेका छन् । गृहमन्त्री मात्रै होइन यसअघिका प्रहरी महानिरिक्षकले समेत निर्मला पन्त हत्या प्रकरण पत्ता लगाउने दावी गर्दै आएका हुन तर उनीहरू समेत यो हत्या काण्डको सत्यता ढाकछोप गर्न विवस भए ।
आखिर कुन शक्ति छ, जसले यत्रो अनुसन्धान पनि प्रभावित गरिरहेको छ ? सोचनीय विषय छ । आज त्यो पटाक्षेप गर्ने बेला आएको छ । बोलेर होइन, काम गरेर देखाउने बालेन सरकारको प्रतिबद्धता छ ।
निर्मला जस्ता अन्य धेरै चेलीको पनि निर्मम हत्या भएको छ । तीमध्ये हत्यामा संलग्न कति अपराधी पक्राउ परे र कतिले सजाय पाएका छन । आज ती सवै निर्मलाको हत्याको फाईल खुल्नुपर्दछ ।
जेहोस ढिलै भएपनि निर्मलाको पक्षमा न्याय हुने आशा पलाएको छ । ढिलै भएपनि गृहमन्त्री सुधन गुरुङको प्राथमिकतामा यो विषय परेको छ । निर्मला पन्तको हत्यामा संलग्न दोषीमात्रै पक्राउ परेर सजाय पाएको अवस्थामा उनको कार्यकाल स्वतः सफल भएको ठहरिनेछ ।
विगतमा निर्मला पन्तको बलात्कार र हत्यापछि राज्यको जिम्मेवार निकायले गंभीर ढंगले दोषी पत्ता लगाउन र कारवाहीमा ढिलाई तथा वेवास्ता गर्दा यो घटना अहिलेसम्म रहस्यमय वनेको हो भन्दा अत्युक्ति हुँदैन । तसर्थ भन्नैपर्दछ विगतका सरकार निकम्मा भए । अव दुई तिहाई नजिकको यो सरकारले त्यो आँट गरोस् ।
त्यसो त यो देशमा निर्मला पन्तमात्रै होइन, निर्मला जस्तै दर्जनौं निर्मलाहरूको जीवनमाथि खेलवाड गरिएको छ । उनीहरूलाई बाँच्न नसक्ने बनाइएको छ । जसका कारण कैयौं निर्मलाहरू आफै आत्महत्याको बाटो रोज्न बाध्य वनाइएको घटना पनि छ । निर्मला पन्त जस्ता बालिकाहरू अन्याय र अत्याचारको बोझमा पिल्सिएका छन् ।
प्रहरी हिरासतमै पनि कैयौं चेलीले ज्यान गुमाएका छन् । अतः अव यो हत्या श्रृंखलाको पटाक्षेपको खाँचो छ । एकपटक कम्तिमा निर्मला पन्तको पक्षमा न्याय हुन्छ कि भन्ने आशा जागृत भएको छ ।
नृशंस घटनामा संलग्न दोषी ठूलै राजनैतिक शक्तिकेन्द्र नजिक रहेको आशंका पहिलेदेखि गरिएको हो । अव परिक्षा गृहमन्त्री सुधन गुरुङको आएको छ । यो दर्दनाक हत्या प्रकरणको अनुसन्धान गरि दोषीलाई कानुनी कठघरामा ल्याउन सके उनी इतिहासकै सफल गृहमन्त्री बन्नेछन् ।
यो देशमा न्याय मर्दैन कि भन्ने गृहमन्त्रीको पछिल्लो प्रतिवद्धताले आशा पलाएको छ । अहिले यो घटनालाई केवल चर्चामा मात्र होइन दोषी पत्ता लगाएर कानुनी कठघरामा उभ्याउने काममा गृहमन्त्रीलाई सफलता मिलोस् ।
नयाँ बालेन नेतृत्वको सरकारको कार्यकालमा कुनैपनि चेलीले न्याय नपाएर प्रताडित हुनु परेको घटना सुन्नमा नआओस् । आगामी दिनमा निर्मला पन्तको नियति कसैले पनि भोग्नु नपरोस् । सरकारको पहिलो प्राथमिकता बनोस्– यो हत्यामा संलग्नलाई सार्वजनिक गरियोस् । कडाभन्दा कडा कारबाही होस् ।