© 2026
नेपालगन्ज । नेपालगन्जको वाटरपार्क क्षेत्रमा आगामी वैशाख ११ देखि १३ गतेसम्म ‘नेपालगन्ज स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल’ आयोजना हुने भएको छ ।
स्थानीय पुष्पलाल चोक नजिक रहेको ‘सुशिल कोइराला स्मृति गेट’ देखि पश्चिमतर्फ वाटरपार्कसम्म फैलिएको क्षेत्रमा तीन दिनसम्म फेस्टिभल सञ्चालन गरिने तयारी गरिएको हो ।
होटल व्यवसायी सङ्घ बाँके नेपालगन्ज र होटल सङ्घ बाँकेको संयुक्त आयोजनामा हुने उक्त फेस्टिभलको तयारी तीव्र पारिएको जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो ।
आयोजकका अनुसार फेस्टिभलले स्थानीय परिकारको प्रवर्द्धन, पर्यटन विकास, धार्मिक स्थलको प्रचार–प्रसार र होटल व्यवसायको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममार्फत भारतसँगको सीमावर्ती क्षेत्रबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने, तारे होटलका परिकारलाई एउटै थलोमा प्रस्तुत गर्ने तथा समग्र व्यापारिक गतिविधिलाई चलायमान बनाउने लक्ष्य लिइएको छ ।
पत्रकार सम्मेलनमा होटल सङ्घ बाँकेका अध्यक्ष दिवाकर खनालले स्थानीय परिकार, संस्कृति र पर्यटनको समग्र प्रवर्द्धन गर्ने उद्देश्यसहित फेस्टिभल आयोजना गर्न लागिएको बताए । उनले फेस्टिभलले उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउनुका साथै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
त्यसै गरी, होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भिमलाल कँडेलले फेस्टिभलमा स्थानीय स्वादिष्ट स्ट्रिट फुडदेखि आधुनिक तथा परम्परागत खानाका परिकार, विभिन्न पेय पदार्थ, कला–संस्कृति झल्किने प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिने जानकारी दिए ।
“आगन्तुकहरूले विविध खानाका स्टल, लाइभ म्युजिक, सांस्कृतिक कार्यक्रम र विशेष अफरहरूको अनुभव लिन पाउनेछन्,” उनले भने ।
फेस्टिभलले स्थानीय व्यवसायीलाई प्रोत्साहन गर्नुका साथै नेपालगन्जलाई ‘फुड डेस्टिनेसन’ को रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
साथै, यसले आर्थिक गतिविधि वृद्धि, उपभोक्तालाई गुणस्तरीय सेवा र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजकको छ । कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन २ सय ५१ सदस्यीय मूल समिति तथा १७ वटा उपसमिति गठन गरिएको आयोजकले जनाएको छ ।